Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


ज्यानलाई मौसमले च्यालेन्ज गर्छ कि मदिराले !


0
Shares

चिकित्सकको अनुभवमा विपन्न समुदायमा चिसो हटाउने नाममा बढी मदिरा खाएर बाहिर सुत्दा धेरैको ज्यान गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले चिसोमा मदिराले तत्कालका लागि न्यानो महसुस गराए पनि शरीरभित्रको तापक्रम (हिट लस) घटाउने बताए ।

मानिसको शरीरको रगत र भित्री भाग (कोर ट्याम्प्रेचर) तातो हुन्छ । मदिराको प्रयोग गर्दा रक्तसञ्चार बढ्दा मदिराले रगतमा भएको तातोलाई छालातिर फाल्छ । चिकित्सकको भाषामा यसलाई ‘भ्यासोडाइलेसन’ भनिन्छ ।

सामान्य अवस्थामा बाहिर चिसो हुँदा शरीरले नशा खुम्च्याएर तातो जोगाउने भएकाले जाडोसँग बढी प्रतिरक्षा गर्न सक्छ । शरीरको नशा साँघुरो हुनु भित्री तातो जोगाउनकै लागि हो ।

चिकित्सकका अनुसार मदिराले तत्कालका लागि रगतको सञ्चालन बढाउने भएकाले रगतका नशा (ब्लड भेइसल) फराकिलो बनाउँछ । ‘मदिराको असरले शरीरभित्रको तातोलाई छालातिर फाल्ने हुनाले बाहिर क्षणिक तातो भएजस्तो हुन्छ,’ डा. अनिल भन्छन्, ‘तर भित्रको तातो घटाउँछ ।’

उनले चिसोमा बढी मदिरा सेवन गर्दा रगतको थेग्ला जमेर तत्काल हृदयघात र मतिष्कघात हुनसक्ने बताए ।

विभिन्न अध्ययनअनुसार नेपालमा जनसंख्याको १७ प्रतिशतले मदिरा सेवन गर्छन् । मदिराको नशामा तातेको महसुस गरेपछि लुगा फाल्ने र खुला आकाश वा अझै चिसोमा रहँदा बिस्तारै शरीरको सतहको भागसमेत सेलाउँछ । ‘भित्र हिट लस भइसकेको हुन्छ, बाहिरको चिसो त केहीबेरमै सेलाउँछ,’ डा. अनिलले भने, ‘यस्तो अवस्थामा शरीर पूरै चिसो हुने हाइपोथर्मिया भएर ज्यानै जानसक्छ ।’

उनका अनुसार विपन्न समुदायका मानिस सुतेकै ठाउँमा मृत्यु हुने घटनामा मदिरा नै प्रमुख कारक बन्ने गरेको छ । –नागरिक दैनिकबाट