
काठमाडौं, मंसिर २५ । भैरहवा ग्लाडिएटर्सले एभरेस्ट प्रिमियर लिग (इपीएल)मा लगातार दोस्रो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो ।
जितसँगै भैरहवाले ४ अंक जोडेको छ ।
भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर ९ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो ।
चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलीप नाथले १२ रन जोडे । शाहब आलमले नटआउट १६ रन बनाए ।
बलिङमा भैरहवाका कप्तान शरद भेषावकर र रवीइन्दर सिंहले २/२, रायन टेन डेसचाटे र अभिनाश बोहराले १/१ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो ।
भैरहवाका लागि राएन टेन डेसकाटेले ३५, प्रदीप ऐरीले २६, रवीइन्दर सिंहले २५, आरिफ शेख र पुनित मेहराले १२/१२ रन जोडेका थिए ।
चितवनका सागर ढकालले ३ र जर्ज स्कटले २ विकेट लिएका थिए ।
जारी प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो ।
बुधबार भैरहवा र विराटनगर वारियर्स तथा काठमाडौं किंग्स–११ र ललितपुर प्याट्रियसबीच खेल हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्