
हालसम्म ७० जना उक्त प्रतिस्पर्धामा सहभागी भइसकेका छन् । प्रतिस्पर्धामा बालबालिकाको सहभागिता पनि चाखलाग्दो छ ।
३६ लाइन रहेको सो गीत गाउने ५ वर्षीय सजगता मानन्धर, ९ वर्षीया प्रतिज्ञा बज्राचार्य र १० वर्षीय विधान तुलाधर, १३ वर्षीय सचेतना मानन्धरले प्रतिस्पर्धामै भाग लिएका छन् ।
यस्तै, ३ वर्षीय अपूर्व शर्मा राजोपाध्याय, ८ वर्षीय सार्थक नकर्मीले गाएको गीत सामाजिक सञ्जालमा भेटिएको छ ।
पेजथ्री नेपालभाषा पाक्षिकको आयोजनामा भइरहेको चेज बूदिंया भिंतुना म्ये कासा (जन्मदिनको गीतको कभर प्रतियोगिता)मा गीत समावेश गर्नका लागि गत पुस १ गतेदेखि यही माघ ८ गतेसम्म समय दिइएको छ ।
माघ ८ गते मध्यरात १२ बजेसम्म पोस्ट भएका र सबैभन्दा बढी हेरिएको गीतहरुबीच प्रतिस्पर्धा हुनेछ ।
सबैभन्दा बढी हेरिएको गीतलाई २४ इन्चको चेज लिड टेलिभिजन पुरस्कार दिइनेछ भने सबैभन्दा राम्रो गायक/गायिकालाई २४ इन्चको चेज लिड टेलिभिजनका साथै आर्टोम्यूज रेकर्डिङ स्टुडियोले सुरजवीर बज्राचार्यको शब्द र वरिष्ठ संगीतकार जुगल डंगोलको संगीतमा एउटा नेपालभाषाको गीत रेकर्डिङ गरिदिनेछ ।
सहभागिताको लागि स्मुल एपमाफृत वा युट्युबमा रहेको बूदिंया भिंतुना (गीत) को ट्रयाकमा आफ्नो आवाजमा उक्त गीत गाएर मोबाइल भिडियो बनाउनुपर्दछ ।
आफूले गाएको गीतको भिडियो पब्लिक पोस्ट गरिसकेपछि सो गीतको लिंक कपी गरी आयोजकको आधिकारिक पेज ‘बूदिंया भिंतुना म्ये कासा’मा पेस्ट वा पोस्ट गरेपछि प्रतिस्पर्धीकारुपमा दर्ता हुन्छ ।
जन्मदिनको परम्परामा पाश्चात्य प्रभाव हटाउनुका साथै नेपालभाषाकै गीतको प्रयोग बढाउने अभियानकारुपमा कभर प्रतिस्पर्धा थालिएको हो ।
तीन महिनाअघि गायक तथा रचनाकार सुरजवीर बज्राचार्यले मंगलधूनमा गीत सिर्जना गरी आफ्नी जीवनसंगिनी रमा बज्राचार्यको जन्मदिनको अवसर पारी सो गीत बजारमा ल्याएका थिए ।
बजारमा आएलगत्तै लोकप्रिय बनेको सो गीतमा जन्मदिन परेको व्यक्तिको फोटो राखी भिडियो बनाएर समर्पण गर्ने, गीत बजाएर सगुन दिने, गीतकै माध्यमबाट शुभकामना व्यक्त गरिएको देखिन थालेको थियो ।
नयाँ आवाजमा पनि यो गीत गुन्जिन थालेपछि कभर प्रतिस्पर्धाको योजना बनाएको आयोजक पेजथ्रीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्