
प्रज्ञा तिमल्सिना र राममान डंगोल (इमेज)
काठमाडौं, मंसिर २५ । ‘महिनावारी विश्रामको लागि समय छैन, प्रत्येक किशोरीले महिनावारीको समयमा अघि बढ्न सकून् भनेर सुनिश्चित गरौं’ भन्ने नारासहित मंगलबार महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी कार्यशाला भएको छ ।
कार्यशालामा महिनावारीको समयमा कसरी सरसफाइमा ध्यान दिने भनेर नीति–निर्माता र सरोकारवालाहरुबीच छलफल भएको थियो ।
महिनावारीबारे महिला आफैं पनि खुलेर कुरा गर्न नसक्ने समस्याका कारण महिलाले कुनै न कुनैरुपमा समस्याहरु भोगिरहेका हुन्छन् ।
महिलाहरुमा सामान्यतया १३—१४ वर्षको उमेरदेखि नै महिनावारी सुरु हुन्छ । तर, खानपान र वंशाणुगत कारणले १०-११ वर्षको उमेरमा पनि महिनावारी सुरु हुने स्त्रीरोग विशेषज्ञहरु बताउँछन् ।
अझैपनि महिनावारीको समयमा परिवारका सदस्यहरुलाई छुन हुँदैन भन्ने सामाजिक अन्धविश्वासले जरो गाडीरहेकै पाइन्छ ।
परम्परागत सोचका कारण सुदूरपश्चिमलगायतका विभिन्न जिल्लामा छाउपडी प्रथा हट्न सकेको छैन । जसका कारण धेरै महिलाले ज्यानसमेत गुमाइसकेका छन् ।
छाउपडी राख्नेलाई तीन महिना जेल र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था रहेपनि हालसम्म एकजनाको पनि उजुरी नआएको सरोकारवालाहरु बताउँछन् ।
महिनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नहुँदा महिनामा करिब पाँचदेखि सात दिनसम्म छात्राहरुको अध्ययनमा बाधा पुग्नुका साथै कतिले त बीचैमा पठाइ छाड्ने गरेका पनि छन् ।
सरसफाइ सम्बन्धी गुरुयोजना–२०६८ मा महिनावारी तथा सरसफाइलाई समेटिएको भएपनि आशा गरेअनुसारको सफलता हासिल हुन सकेको छैन ।
हालैमात्र खानेपानी मन्त्रालयलेसमेत महिनावारी सरसफाइसम्बन्धी मस्यौदा तयार पारेको छ ।
महिनावारी हुँदा सरसफाइमा ध्यान दिन नसक्दा स्वास्थ्य समस्या हुनुका साथै संक्रमण भइ ज्यानैसमेत जाने गरेको छ ।
घरमा किशोरीलाई महिलालेमात्र होइन, परिवारका पुरुषले पनि महिनावारीकाबारेमा जानकारी राखेर सघाउनुपर्छ ।
महिनावारी महिलाहरुमा हुने शारीरिक परिवर्तनमध्येको एक प्राकृतिक कुरा हो ।
यसबारे सामाजिक चेतना र जागरण अभिवृद्धि गर्दै सरसफाइसम्बन्धी कार्यक्रमलाईसमेत प्रभावकारी बनाउँदै जाँदा यसका नकारात्मक पक्षहरु कम गर्दै जान सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्