१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेपाली आकाशमा उड्ने विमान अब अत्याधुनिक नयाँ राडारको निगरानीमा (भिडियो)


0
Shares

माघ १८ देखि इनरुट मोनोपल्स सेकेन्डरी सर्भिलेन्स राडार (इएमएसएसआर) र टर्मिनल मोनोपल्स सेकेन्डरी सर्भिलेन्स राडार (टी.एम.एस.एस.आर.) औपचारिक प्रयोगमा आउने छ ।

यो अत्याधुनिक प्रविधि हो जसले नेपाली आकाशमा उडेका विमानको सुक्ष्म निगरानी गर्न सक्छ ।

जापानी सहयोग नियोग (जाइका) को करिब ९५ करोड र नागरिक उड्डयन प्राधिकरणको करिब १५ करोड गरी कबिर १ अर्ब १० करोडको लागत अत्याधुनिक राडर जडान भएको हो ।

ललितपुरको भट्टेडाँडाँमा राखिएको ‘इनरूट राडार’ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘टर्मिनल राडार’ को क्यालिब्रेसन (हवाई निरीक्षण) समेत सम्पन्न भईसकेको छ ।

नयाँ राडारको ल्यालिब्रेसन गरेको अमेरिकी नागरिक उड्डयन संस्थाले प्रतिवेदन अघिल्लो साता दिईसकेको प्राधिकरणले जनाएको छ ।

‘इनरूट राडार’ ले २५० नटिकल माइल रेडियस अर्थात ४५० किलोमिटर दूरीसम्म नेपाली आकाशमा उडेका विमानको निगरानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछ ।

उच्च हिमाली क्षेत्रबाहेक यस प्रविधिले पश्चिममा सुर्खेतसम्म र पूर्वको सबै क्षेत्रलाई कभर गर्ने छ ।

यस्तै ‘टर्मिनल राडार’ ले २०० नटिकल माइल रेडियस अर्थात ३६० किलोमिटरसम्मको दूरीमा रहेका विमानको निगरानी गर्नेछ ।

जापान सरकारको सहयोगमै १७ वर्ष अघि जडित ८० किलोमिटर वृत्त (रेडियस) मात्रै क्षमता भएको राडार विस्थापित हुनेछ ।

यो प्रविधिले ७५ प्रतिशत नेपाली एयर स्पेस कभर गर्ने प्राधिकरणका महानिर्देशक संजीव गौतमले बताए ।

यो राडारको प्रयोगले हवाई सुरक्षा र व्यवस्थापनमा चुस्तता आउने छ । सन् प्रतिशत एयर स्पेस कभर गर्नका लागि छिट्टै भैरहवामा यस्तै राडार जडान गर्ने योजना रहेको पनि उनले बताए ।

भट्टेडाँडामा राखिएको राडारले ४ सय ५० किलोमिटर दूरीसम्मको रेडियसमा उडिरहेको विमान, विमानको गति, विमानको अवस्थिती र उचाइ थाहा पाउँछ भने काठमाडौं विमानस्थलमा जडान गरिएको राडारले ३ सय ६० किलोमिटरसम्मको रेडियसमा उडिरहेको विमानको विस्तृत विवरण टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरले देखाउने प्राधिकरणका परियोजना निर्देशक इन्जीनियर संजीवसिंह कठायले बताए ।

पुरानो राडारले काठमाडौं विमानस्थलबाट ८० किलोमिटर रेडिसयभित्र उडिरहेका विमानलाई देख्थ्यो र निगरानी गथ्र्यो । यो राडारले अकाशमा उडिरहेका विमानहरुको पोजिसनको पनि सही जानकारी दिने छ ।

यसको प्रयोगले उडिरहेका विमानहरुबीचको दूरी समेत घट्ने छ । अब ५ नटिकल माइल अर्थात ८ किलोमिटरको अन्तरमा विमान राख्न सकिने छ ।

हाल २० नटिकल माइल अर्थात ३२ किलोमिटरको अन्तरमा आकाशमा विमान राख्दै आइएको छ । विमान अवतरणका लागि भने १० माइल अर्थात १६ किलोमिटरको दूरीमा उडिरहेको विमान राखिने छ ।

भट्टेडाडामा राडार राख्दा धेरै क्षेत्रलाई कभर गर्ने भएकाले यस स्थानमा राखिएको प्राधिकरणले जनाएको छ । भट्टेडाँडाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलोमिटर दक्षिण एवं २३४० मिटर उचाईमा छ ।

नयाँ प्रविधिको राडार प्रयोगमा आएपछि पनि करिब तीन महिनासम्म भने पुरानो राडारसमेत प्रयोगमा रहिरहने प्राधिकरणले जनाएको छ ।

राडारको हालै अवलोकन गर्न भट्टेडाँडा पुगेका नेपालका लागि जापानका राजदूत मासासी ओगावाले यो राडारको प्रयोगले नेपाली हवाई आकासलाई सुरक्षित एवं चुस्त बनाउने विश्वास व्यक्त गरे ।

नेपालस्थित जाइका प्रमुख साकुमा जुनले नेपाली हवाई क्षेत्रलाई थप सुरक्षित एवं व्यवस्थित बनाउन यो राडारले सहयोग गर्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप व्यवस्थित गर्न लाग्ने बताए ।

सन् १९९२ मा थाई एयरवेज र पाकिस्तान इन्टरनेशनल एयरलाइन्स दुर्घटनामा परेपछि तत्कालिन गिरिजाप्रसाद कोइराला सरकारले जापान सरकारलाई अनुरोध गरेपछि जापानी सहयोगमा सन् १९९७ मा पहिलो पटक राडार जडान गरिएको थियो ।

(भिडियो)