
सिंहदरबार प्रवेश गर्न सक्नेलाई अतिरिक्त क्षमता नै भएको ठान्ने पनि उत्तिकै छन् ।
तर, बल्ल–बल्ल मूलढोका पार गरेर भित्र प्रवेश गरेकाहरुले सम्बन्धित निकायबाट सेवा नपाउँदा उत्तिकै हैरानी र निराशा पनि व्यहोरिरहेका छन् ।
हुनत मुलुक संघीयताको अभ्यासमा छ । संविधानले अधिकारहरु तल्लो तह अर्थात् स्थानीय तहसम्म प्रक्षेपित गरेको छ । संविधानले व्यवस्था गरेका अधिकारहरु कार्यान्वयनका लागि भर्खरै अभ्यास सुरु भएको छ ।
तैपनि राज्यको स्रोत र साधन यही सिंहदरबारमा अवस्थित शक्ति केन्द्रहरुबाट स्थानीय तहसम्म कार्यान्वयनमा पुग्न अझै धेरै अभ्यास गर्न बाँकी नै छ ।
त्यसैले त सेवाग्राहीहरु सकी–नसकी अनेक प्रबन्ध जुराएर सिंहदरबारभित्रको मूलढोका काटेर ठूलो आशा बोकेर आफ्नो काम हुने अपेक्षासहित धाइरहेका छन् । सिंहदरबारभित्र अवस्थित करिब २७ मन्त्रालयमै छन्, नागरिकका अपेक्षा ।
तर, जनसेवाका लागि भनिएका यिनै मन्त्रालयहरुमा हाम्रो टोली पुग्दा जनताको सेवामा खटिनुपर्ने उच्च तहका कर्मचारीदेखि विभिन्न विभागीय कर्मचारीका कुर्सी खाली भेटिए ।
चाँडै काम होला भनेर विभिन्न कार्यालयमा पुगेका सेवाग्राही भने घाम ताप्न बाध्य भए ।
माघ महिना । मौसम चिसै छ । हरेक मन्त्रालयका कर्मचारीलाई कोठाभित्र न्यानोपनका लागि राम्रै व्यवस्था मिलाइएको छ । व्यक्ति नहुँदा पनि खाली कुर्सीलाई न्यानोपन दिने व्यवस्था मिलाइएकै छ ।
रित्ता कुर्सीबारे सोध्दा फाट्टफुट्ट भेटिने कर्मचारी एउटै जवाफ दिन्छन्–‘बैठक छ, त्यहीँ व्यस्त हुनुहुन्छ ।’
समस्या बोकेर यहाँ पुग्ने सेवाग्राहीमा भने सम्बन्धित अड्डाबाट जानकारी पाउने अपेक्षा हुन्छ ।
तर, बझाङदेखि आएकी एक महिलाले आफ्नो समस्यामा कर्मचारीहरुले नै अनभिज्ञता प्रकट गरेको भन्दै निराशा व्यक्त गरिन् ।
यसबारेमा बुझ्न हाम्रो टोली पुग्दा जवाफ दिनबाट पन्छिए कर्मचारीहरु । उसो त सबै मन्त्रालयका कर्मचारीको कुर्सी खाली भेटिएको पनि होइन । केही मन्त्रालयमा भने काम गरी नै रहने कर्मचारी पनि भेटिए ।
प्रतिक्रिया दिनुहोस्