२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


आज उम्मेदवारको नामावली प्रकाशन, एक जनाको मात्र उम्मेदवारी खारेज


0
Shares

निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो ।

उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो ।

आयोगले हिजो उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ । आयोगमा विभिन्न उजुरी परेका भए पनि १ जनाको मात्रै उम्मेदवारी खारेज भएको छ ।

वाम गठबन्धनको तर्फबाट प्रदेश नम्बर ४ को अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको हो ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागेको आयोगले उम्मेदवारी फिर्ताका लागि आज दिउँसो १ बजेदेखि भोलि दिउँसो २ बजेसम्मको समय दिएको छ ।

यो बीचमा इच्छुक उम्मेदवारले उम्मेदवारी फिर्ता सक्नेछन् । सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने आयोगले जनाएको छ ।

अन्तिम नामावली प्रकाशनपछि भोलि नै उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने आयोगको कार्यतालिका छ ।

५९ सदस्यका लागि हुन लागेको राष्ट्रियसभा चुनावमा ८३ जनाको उम्मेदवारी परेको थियो ।

त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ । यद्यपि, निर्विरोध भएकाहरु निर्वाचित भएको औपचारिक घोषणा भने आयोगले गरिसकेको छैन ।