
सम्भवतः पहिलो पटक औपचारिक निमन्त्रणा विनै नेपाल आएकी भारतीय विदेशमन्त्री स्वराजले लगभग २१ घण्टाको नेपाल बसाईमा ठूला राजनीतिक दलका सबैजसो नेताहरुसँग भेट गरिन् ।
तर उनले आफ्नो भ्रमणको खास उद्देश्यका बारेमा कसैसँग पनि केही भनिनन् । लगभग सबैसँग उस्तै प्रकारको कुरा गरिन, जसले गर्दा उनको यो भ्रमण केका लागि भन्ने गर्भमै रह्यो ।
बिहीबार साँढे चार बजे काठमाडौं ओर्लने वित्तिकै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले भनेकी थिइन्– ‘मेरो कुनै एजेण्डा छैन, नेपालका साथीभाईलाई भेट्न मात्र आएकी हुँ ।’
विशेष विमानबाट नेपाल आएकी विदेशमन्त्री स्वराजले त्यही दिन एमाले अध्यक्ष केपी ओलीसँग एक्लै र एमाले नेताहरुसँग सामूहिक भेटवार्ता गरिन् ।
होटल सोल्टीमा भएको भेटवार्तापछि एमालेले सोही होटलमा स्वराजको स्वागतमा डिनर पनि दियो । तर स्वराज कसको निम्तामा आईन् भन्ने विषय बहसमा आयो ।
कसैले भन्यो एमालेले ।
तर एमालले भन्यो हामीले बोलाएको छैन । सरकारले पनि बोलाएको छैन ।
खास गरी वेटिङ प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्ध बिस्तारकै लागि भारतीय विदेशमन्त्रीको भ्रमण हो भन्नेहरु धेरै छन् ।
पछिल्ला केही वर्षयता ओली र भारतको सम्बन्ध त्यति मीठो थिएन । भारतले नाकाबन्दी लगाएको विरोधमा खरो रुपमा उत्रिएका कारण एमाले अध्यक्ष ओलीले एकप्रकारको राष्ट्रवादी छवि बनाएका थिए ।
सायद त्यही भारत विरोधी छविले निर्वाचनमा एमालेलाई राम्रो परिणाम पनि दिलायो । तर विदेशमन्त्रीसँगको भेटपछि त्यो तित्तता मेटिएको जस्तो व्यवहार एमाले नेताहरुले गरे ।
भेटवार्ताबाट एमाले नेताहरु केही खुशी देखिएका थिए । एमाले नेता प्रदिप ज्ञवालीले आफूहरुसँग सहकार्य गर्न भारत तयार रहेको सन्देश स्वराजले दिएको बताए ।
यो भ्रमणको केन्द्रबिन्दु नै एमालेसँगको भेटमा केन्द्रीत रह्यो । यद्यपी ओलीको डिनरबाट सुरु भएको भारतीय विदेश मन्त्री स्वराजको नेपाल यात्रा प्रधानमन्त्री शेरबहादुर देउवाको लन्चमा गएर टुंगियो ।
नेपाल बसाईका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा र संघीय समाजवादी फोरमका नेताहरुसँग पनि भेटवार्ता गरिने ।
स्वराजसँगको भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि सद्भाव भेटका लागि मात्र उनी नेपाल प्रतिक्रिया दिएका थिए ।
प्रधानमन्त्री देउवासँग त झन् सामूहिक छलफल मात्र भयो । भारतीय विदेशमन्त्रीसँग खासै अन्य कुरा नभएको संकेत प्रधानमन्त्रीका सल्लाहकारले दिए ।
आखिर केका लागि थियो त भारतीय विदेशमन्त्री स्वराजको भ्रमण भन्नेमा नेपाल–भारत सम्बन्धका विज्ञ भन्नेहरु पनि अनविज्ञ नै छन् ।
कोही विगतमा भएको गल्ती करेक्सनका लागि हो भनिरहेका छन् भने कोही सामान्य प्रक्रिया मात्र हो भनिरहेका छन् ।
नयाँ जनादेशपछि नयाँ सरकार गठन भइनसक्दै औपचारिक निमन्त्रणा विना भएको यो भ्रमणले आशंका थप बढाइदिएको छ ।
एजेण्डा बिहीन भनिएको भ्रमण सकेर फर्कने क्रममा भारतीय दूतावासले ‘सफल भ्रमणको अन्त्य गर्दै विदेशमन्त्री सुष्मा स्वराज स्वदेश प्रस्थान गर्नुभएको छ’ भनेर ट्विट गरेको छ ।
भ्रमणका क्रममा के उपलब्धी भयो र यसलाई सफलताको संज्ञा दिइयो भन्ने विषय चाहिँ आम नेपालीका लागि प्रतिक्षाकै विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्