१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेपालमा बोटबिरुवाको पनि डीएनए परीक्षण


0
Shares

खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले बोटबिरुवाको फूल, पात, बोक्रालगायत भागबाट डीएनए परीक्षण थालेको हो ।

वनस्पतिमा रहेको आशिंक गुणका आधारमा परीक्षण गर्न थालिएको नाष्टमा कार्यरत् वैज्ञानिक डा. रामचन्द्र पौडेलले बताए ।

‘लोपन्मुख जातिको बोटबिरुवालाई भविष्यसम्म सुरक्षित गर्नका लागि यसले सहयोग गर्छ’–उनले भने–‘अव्यवस्थित संकलन र चोरी भइरहेका बोटबिरुवालाई पहिचान गर्नसक्दामात्रै त्यो रोक्न सकिन्छ ।’

दिगो उपयोगका लागि नीति बनाउन सहयोग पुग्ने पनि वैज्ञानिक डा. पौडेलले बताए ।

विभिन्न देशहरुले आफूसँग भएका वनस्पतिको प्रजातिसहितको विवरण इन्टरनेटमा हालेका छन् ।

‘परीक्षण गर्नुपर्ने वनस्पति प्रयोगशालामा पहिले परीक्षण गरिन्छ, त्यसमा भेटिएको गुण इन्टरनेटमा भएका वनस्पतिसँग जुधाएर हेरिन्छ, केही गुण धेरैओटासँग मिल्नसक्छ’–उनले भने–‘सबैभन्दा बढी गुण जुनसँग मेल खान्छ, त्यो वनस्पति त्यही हो भनेर चिनिन्छ ।’

बर र पिपलमा खुल्ला आँखाले देख्दा कतिपय समानता देखिन्छ । प्रयोगशालामासमेत कतिपय गुण मिल्ने उनले बताए ।

यसलाई इन्टरनेटमा राखिएको बिरुवासँग भिडाउदामात्रै त्यसमा भएको फरक गुण पत्ता लाग्छ । वनस्पतिको स्वरुप परिवर्तन हुँदा खुला आँखाले नछुटाउने भएपनि डीएन परीक्षणबाट त्यो छुटाउन सकिने डा. पौडेलको भनाइ छ ।

उनले भने–‘बोटबिरुवाको धुलो बनाउँदा नांगो आँखाले के हो भन्ने छुटिन्न । तर, परीक्षणबाट छुटाउन सकिन्छ ।’

सबै वनस्पतिमा केही गुण अंशसँग मिल्ने खालको भएपनि कतिपय गुण अरुभन्दा भिन्दै हुने डा. पौडेल बताउँछन् । यही फरक गुणको पहिचान गर्न र पत्ता लगाउनका लागि परीक्षणले सहयोग गर्छ । यसले यस विषयमा अध्ययनरत् विद्यार्थी र विज्ञलाईसमेत सहयोग पुगेको छ ।

‘यो परीक्षणले विभिन्न किसिमका वनस्पतिका विषयमा अध्ययनरत् विद्यार्थीले त्यस वनस्पतिको फरक गुण र अरुसँग मिल्ने गुणकाबारेमासमेत अध्ययन गर्न पाएका छन्’–उनले भने ।

लोपोन्मुख जातका र नेपालमामात्रै पाइने जातका बोटबिरुवाकोसमेत डीएनए परीक्षण भइरहेको डा. पौडेलले बताए । यसअघि, रेकर्ड (इन्टरनेट)मा नभएका बोटबिरुवाको नयाँ कोड (संकेत) दिइने गरिएको थियो ।

उनले भने–‘प्रयोगशालामा परीक्षण गरेर इन्टरनेटमा भिडाउदा तीसँग गुण नमिल्ने भनेको हाम्रोमामात्रै पाइने बोटबिरुवा हो ।’

यसरी नयाँ बिरुवाको डीएनए परीक्षण गरेर इन्टरनेटमा हाल्दा विदेशीलाईसमेत त्यसबारे बुझ्न सहज हुने डा. पौडेलको दाबी छ ।

डीएनए गरेर अरुसँग नमिल्ने गुण भेटिएकालाई प्रकाशन गर्दा यो हाम्रो देशमामात्रै पाइने बिरुवा भन्ने प्रमाणित हुने नास्टका विज्ञान शाखा प्रमुख जयश्री सिजापतिले बताए । उनले भने–‘हामीसँग भएका बिरुवाको प्रकार बुझ्नसमेत अनुसन्धानले सहयोग गर्छ ।’

सरकारले लोपन्मुख भनेर सूचीकृत गरेका २२ प्रकारका बोटबिरुवामा केन्द्रित भएर काम गरिरहेको प्रमुख सिजापतिले बताए ।

यसअघि, मान्छेको र जनावरकोमात्रै डीएनए परीक्षण हुने गरेको थियो । नास्टअन्तर्गतको विधि विज्ञान प्रयोगशालाले अघिल्लो वर्षबाटमात्रै जनावरको डीएनए परीक्षण सुरु गरेको हो ।

अदालतमा मुद्दा परेपछि अनुसन्धानका लागि जनावरको डीएनए परीक्षण हुँदै आएको छ । नास्ट आफैंले भने अध्ययन गरेर नयाँ कुरा पत्ता लगाउनका लागि जनावरको डीएनए परीक्षण गर्दैआएको छ ।