Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


रग्बी विश्वकपको ट्रफी कालापत्थरमा


0
Shares

काठमाडौं, मंसिर २० । ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी बिहीबार सगरमाथाको आधारशिविर सोलुखुम्बुको कालापत्थर पुर्‍याइएको छ ।

विश्व रग्बीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत् ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो ।

नेपाल रग्बी संघको समन्वयमा विश्वसम्पदाको सूचीमा रहेका स्थान एवं संसारकै ध्यानकेन्द्रित हुने पर्यटकीय तथा संसारभरमै पदयात्राका लागि प्रचलित स्थान सर्वोच्च शिखर सगरमाथाको आधारशिविर बिहीबार पुर्‍याएको संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए ।

ट्रफी टुरमार्फत् विश्व रग्बी परिवारमा नेपाललाई संसारभर चिनाउने कार्यमासमेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।

शुक्रबार ट्रफीलाई विश्वसम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वायरमा प्रदर्शनी गरिने उनले जानकारी दिए ।

‘विश्व समुदायमाझ नेपाललाई चिनाउने प्रयासस्वरुप ट्रफीलाई विश्वसम्पदा सूचीमा समावेश सगरमाथाको आधारशिविर तथा स्वम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटन दरबार स्क्वायरलगायत स्थानमा घुमाइनेछ’–उनले भने ।

त्यस्तै, मंसिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ ।

फेस्टिभलमा नेपाली कलाकारहरुको प्रस्तुतिसँगै स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ ।

नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक ल्याइएको हो । नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो ।

रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एसियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । रासस