काठमाडौं, मंसिर १९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् बुधबार भएका खेलमा मनाङ–मर्स्याङ्दी, थ्रीस्टार र च्यासल युथ क्लब विजयी भएका छन् ।
लिगमा आफ्नो शतप्रतिशत विजयी यात्रालाई निरन्तरता दिनेक्रममा मनाङ–मर्स्याङ्दीले जावलाखेल युथ क्लबलाई १–० ले हरायो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङलाई विजयी गराउन अन्जन विष्टले निर्णायक गोल गरे ।
थ्रीस्टार दोस्रो स्थानमा उक्लियो
जितसँगै मनाङले ६ खेलबाट १८ अंक जोडेको छ । मनाङ अंकतालिकाको शीर्ष स्थानमा यथावत् छ । समान खेलबाट १५ अंक जोडेको थ्रीस्टार क्लब दोस्रो स्थानमा उक्लिएको छ ।
बुधबारै भएको खेलमा थ्रीस्टारले सरस्वती युथ क्लबलाई २–१ ले हरायो । थ्रीस्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले १/१ गोल गरे ।
यसअघि, खेलको तेस्रो मिनेटमै सरस्वतीका विदेशी खेलाडी भिक्टर अमोबीले पेनाल्टीमार्फत् गोल गरेपनि टोलीको अग्रता लामो समयसम्म टिक्न सकेन ।
च्यासलले हिमालयन शेर्पालाई हरायो
लिगअन्तर्गत् बुधबारै भएको अर्को खेलमा च्यासल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्यो ।
खेलको सुरुमै त्रिदेव गुरुङको गोलमार्फत् हिमालयन शेर्पाले अग्रता लिएपनि च्यासलका सन्तोस साहुखल र सुनिल खड्काले १/१ गोल गर्दै ललितपुरे टोलीलाई विजयी गराए ।
जितसँगै च्यासल युथ ६ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ ।
बिहीबार दुई खेल
‘ए’ डिभिजन लिगमा बिहीबार दुई खेल हुनेछन् । बिहीबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब भिड्दा दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मच्छिन्द्र क्लबसित खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्