काठमाडौं । समयमा मर्मत सम्भार नहुँदा रसुवाको पासाङल्हामु सडकखण्डमा यात्रा गर्नेहरुले सास्ती झेल्नुपरेको छ ।
धुन्चे–स्याफ्रु खण्डको सानो भार्खुलगायतका स्थानमा सडक भत्किएपछि यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेको हो । स्याफ्रुबेसी, धुन्चे ठाडे तथा राम्चेका उकालो र घुम्तीहरुमा ठूलाठूला खाल्टा परेका छन् ।
रसुवाको राम्चेदेखि स्याफुबेसीसम्मको खाल्टा खुल्टी पुर्न गतवर्ष नै १ करोड ७० लाख रुपैयाँमा ठेक्का लिए पनि ठेकेदारले काम गरेका छैनन् ।
सडक डिभिजन कार्यालय नुवाकोटले चिसो मौसममा सडकका परेका स–साना खाल्डाखुल्टी टाले पनि ठूला खाल्डाखुल्डी जस्ताको तस्तै छन् ।
कालोपत्रेसमेत ठाउँठाउँमा उक्किएको छ । सडक मर्मतका नाममा वर्सेनी करोडौं रुपैयाँ खर्च गरिँदै आएको भए पनि सडकको अवस्था भने उस्तै छ ।
ठूला मालवाहक सवारी साधन धेरै सञ्चालन भइरहने गरेका कारण सडकमा बढी खाल्टा खुल्टी परेको डिभिजन कार्यालय नुवाकोटको भनाइ छ ।
यो सडकखण्ड सात वर्षअघि एसियाली बिकास बैंकको सहयोगमा कालोपत्रे गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्