
प्रज्ञा तिमल्सिना/लक्ष्मणमान डंगोल (इमेज):
काठमाडौं, फागुन २ । फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे । इसापूर्व २६९ देखि प्राचीन रोमबाट सुरु भएको भ्यालेन्टाइन्स डे अहिले नेपाली युवापुस्तामा पनि लोकप्रिय बन्दै गएको छ ।
भनिन्छ प्रेममा नै संसार अडेको छ । प्रेमले नै संसार चलाउँछ अनि प्रेमकै कारण ध्वस्त पनि हुन्छ ।
युद्ध र राजनीतिमाजस्तै प्रेममा पनि सबथोक जायज हुन्छ । त्यसैले पछिल्लो समयमा प्रेम गर्ने र प्रेममा रमाउनेको जमात बढेको छ ।
तर, प्रेम भन्नेबित्तिकै युवायुवतीको सम्बन्धकारुपमा लिने व्याख्या भने पक्कै गलत हुनसक्छ । किनकि, यो प्रेम कुनै उमेर, जाति वा समुदायमा सीमित छैन ।
प्रेम गर्ने र प्रेमको परिभाषा खोज्नेका लागि यसको इतिहास इसापूर्व २५० तिरबाटै सुरु भएको मानिन्छ ।
प्रेमकै शब्द कोरिन्छ, प्रेमकै धुन गुन्जिन्छ अनि प्रेमकै आवाज निस्कन्छ । त्यसैले भन्ने गरिन्छ यो सभ्यता नै प्रेम र सद्भावमा अडिएको छ । संसार जित्न हिँडेका हिटलर प्रेममा हारेका थिए ।
संसारदेखि विरक्तिएकाहरुले प्रेमपछि पुनर्जन्म पाएका छन् । त्यसैले दार्शनिकहरुले स्वीकारेका छन्, प्रेम बुझ्नेहरुका लागि जीवन हो ।
प्रेम गर्न कुनै दिन र समयको आवश्कता भने पर्दैन । तर, प्रेम गर्नेहरुले भने यस दिनलाई विशेषरुपमा लिने गरेको बताउँछन् ।
तत्कालीन शासक क्लाउडियसले प्रेम र विवाहमाथि लगाएको प्रतिबन्धलाई चिर्दै इटलीका महान प्रेमपुजारी पादरी सेन्ट भ्यालेन्टाइन प्रेमका निम्ति सुलीमा चढ्न तयार भए ।
उनले फेब्रुअरी १४ मा गरेको त्यो प्रेम र विवाहको विद्रोह विश्व इतिहासमा सायद पहिलो थियो । त्यसैले त अहिले उनको सम्झनामा विश्वभर प्रणय दिवस मनाइन्छ, भ्यालेन्टाइन्स डेकारुपमा ।
विश्वभर प्रेम र माया बाँडेर उनलाई सम्झनेहरु अहिले करोडौं छन् । माया, प्रेम र सद्भाव जो कहिल्यै वर्ग, जात, धर्म, राष्ट्रियता, सम्प्रदाय अथवा पेसाको सीमामा बाँधिदैन । त्यसैले त प्रेमलाई नाप्ने कुनै मापदन्ड छैन ।
हरेक वर्ष विश्वभर फेब्रुअरी १४ का दिन मायाले भरिएको चिट्ठी लेख्ने, उपहार र प्रेमको प्रतीक रातो गुलाबको फूल दिने र भावना साट्नेहरु असंख्य हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्