२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी हर्षित


0
Shares

सोलुखुम्बु, फागुन ३ । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।

जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ ।

सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए । उनले भने, ‘मंगलबारदेखि हिउँ परेको छ ।’ बुधबार पनि हिउँ परेको उनले बताए । हिमपातसँगै हल्का बर्सात भएपछि जनजीवन कस्टकर बने पनि स्थानीयवासी भने हर्षित भएका छन् ।

लामो समयदेखि हिउँ नपरेको काँगेल क्षेत्रमा यस वर्ष हिउँ परेको छ । बुधबार दिउँसो करिब १ः३० बजेदेखि करिब ४ घण्टा हिमपात भएको स्थानीयवासी राजेन्द्र बस्नेतले जानकारी दिए । बस्नेतले भने, ‘जन्मेको २६ वर्ष भयो हिउँ परेको थाहा थिएन, यस वर्ष हिउँ प¥यो, हिउँमा खेल्न पाउँदा एकदमै खुशी लाग्यो ।’

त्यस क्षेत्रमा करिब दुई फिटसम्म हिउँ झरेको बताइएको छ । हिउँ खेल्नेहरुको भीड लागेको बासाबाट भेषराज पौडेलले जानकारी दिए । उनले भने, ‘हामी विद्यालयमा थियौँ, हिउँ पर्न थाल्यो, रमाइलो भयो, यस क्षेत्रमा हिउँ खेल्नेको भीड नै लागेको छ ।’

जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा सामान्य बर्सात भएको छ भने अत्यधिक चिसो महसुश गरिएको छ । पानी प्रशस्त नपरे पनि चिसो भने बढेको छ । (रासस)