हिमाल पौडेल र सानु माली (इमेज)
काठमाडौं, मंसिर १८ । गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच नयाँ श्रम सम्झौतामा हस्ताक्षर भयो । सोही सम्झौताअनुसार नेपाली कामदार मलेसिया जान पाउने भनियो ।
तर, दुई देशबीच सम्झौता सम्पन्न भएको केही दिनपछि नै नेपालस्थित मलेसियाली दूतावासले नेपाल सरकारले कारबाही गरेको संस्थालाई वन स्टप सेन्टर (ओएससी) सन्चालन गर्न औपचारिक पत्र काटेपछि ठगी धन्दा पुनः ब्युँताइने त होइन ? भन्ने आशंका बढेको छ ।
नेपालस्थित मलेसियाली दूतावासले नोभेम्बर २१ अर्थात् मंसिर ५ गते ठगीको आरोपमा कारबाहीमा परेको मलेसियाको भिसासम्बन्धी काम गर्ने ‘मलेसिया भीएलएन नेपाल’लाई पत्र लेखेर वन स्टप सेन्टर (ओएससी) सन्चालन गर्न भनेको हो ।
जुन संस्थाका एजेन्ट कारबाहीमा परेका छन्, उसैलाई दूतावासले पत्र लेखेको हो । यो दुई देशबीचको नयाँ श्रम सम्झौताको विपरीतको काम हो ।
‘हिमाल खबरपत्रिका’मार्फत् प्राप्त दूतावासको पत्रमा दूतावासका चार्ज डी अफेयर्स अहमद फाडिल इस्माइलले दुई देशबीच भएको पछिल्लो श्रम सम्झौताबारे जानकारी गराउँदै नेपाली कामदारलाई मलेसिया लैजान वन स्टप सेन्टर सन्चालनका लागि सुनिश्चित गर्न भनिएको छ ।
पत्रमा नयाँ सम्झौतामा पनि मलेसिया जाने प्रक्रिया पहिलेकोजस्तै वन स्टप सेन्टर भएको पनि उल्लेख छ ।
तर, नयाँ श्रम सम्झौतामा दूतावासले भनेकोजस्तो सम्झौता नभएको मलेसियाका लागि नेपाली पूर्वराजदूत डा. ऋषिराज अधिकारी बताउँछन् ।
दूतावासको यो पत्र नयाँ श्रम सम्झौतालाई चुनौती दिन गरेको हुनसक्ने उनी बताउँछन् ।
यो विषयलाई सामान्यरुपमा लिन नहुने भन्दै उनले कूटनीतिक माध्यमबाट बलियोरुपमा आफ्नो कुरा राख्नुपर्ने उनले बताए ।
‘मलेसिया भीएलएन नेपाल’ मलेसिया सरकारको आधिकारिक ‘एजेन्ट’ हो । यही एजेन्टमार्फत् मलेसिया जान चाहने जो कसैको भिसा प्रक्रिया अघि बढ्ने गर्दछ ।
यस्ता एजेन्ट कार्यालय मलेसिया सरकारले १५ ओटा स्रोत मुलुकमा सन्चालन गर्दै आएको छ ।
ठगीको मुद्दा खेपिरहेको मलेसिया भीएलएन नेपाल कार्यालय र त्यसका एजेन्टले अहिले पनि पूर्ववत् भिसासम्बन्धी काम गर्दै आइरहेको स्रोतले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्