१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब ८ लेनको बन्ने


0
Shares

सडक ८ लेनको बन्ने भएपछि सडक विभागले बिहीबार भक्तपुरको जगातीमा आयोजना गरेको राय–सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नुपर्ने मागसमेत गरेका छन् ।

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी–साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग उनीहरुले गरेका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक–धुलिखेल सडक देशकै महत्वपूर्ण योजना भएकाले यसको विस्तार तीव्रगतिमा गर्नुपर्नेमा जोड दिए ।

उनले भने–‘अहिले सूर्यविनायक–जगाती सडकखन्डमा बढ्दोे सवारी चापलाई कम गरी सहजरूपले सवारी–साधन सन्चालनका लागि सडक विस्तारले निकास दिनेछ, यो नाकामा सडक साँघुरो भएकाले पलाँसे–साँगा भञ्ज्याङखन्ड र कोटेश्वरमा सुरुङ निर्माण गर्ने योजनासमेत अगाडि बढेको छ ।’

हाल सन्चालनमा रहेको कोटेश्वर–सूर्यविनायक ६ लेन सडकमा दुर्घटना बढेकोप्रति सचेत हुँदै सडक विस्तार गर्दा ट्राफिक लाइट, सीसीटीभी, सडकबत्ती, आकाशेपुल र फुटपाथको यथोचित व्यवस्था गरी दुर्घटना न्यूनीकरणमा सचेतता अपनाएर सडक विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

सडकको चोकचोकमा ट्याक्सी पार्किङ, मनोहरामा व्यवस्थित बसपार्क र साँगामा उपत्यका भित्रिने गाडी धुने व्यवस्था गरिने जानकारी दिँदै सांसद बस्नेतले भने–‘सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा हाललाई ७५ फिटमात्रै बनाउनुपर्छ, सडक विस्तार गर्दा पहिलोपटकलाई सडकमा पर्ने सबै घरजग्गाको मुआब्जा दिने व्यवस्था गरिनुपर्छ ।’

सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले सूर्यविनायक–धुलिखेल ८ लेन सडक विस्तारमा जापान सरकारले सहयोग गर्ने बताए ।

उनकाअनुसार यो सडकखन्ड विस्तारका लागि जापानले प्रारम्भिक अध्ययन गरिरहेको छ । सडक विभागको प्रतिनिधिमन्डलको जापान भ्रमणक्रममा प्रारम्भिक अध्ययन सकेपछि ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता जापानले गरेको छ ।

जापान सरकारको अनुदान र सडक विस्तारका लागि जापानले ०.२ प्रतिशत ब्याजमा ऋण सहयोग दिने प्रतिबद्धता जनाएकाले यो सडकखन्ड छिट्टै विस्तार गर्ने तयारी भएको उनको भनाइ थियो ।

प्रमुख श्रेष्ठले भने–‘सडक विस्तारकाक्रममा पलाँसेमा सुरुङ निर्माण गरिने योजना छ । पलाँसेबाट साँगा भञ्ज्याङसम्म साँघुरा घुम्तीहरू रहेकाले ८ लेनको सडक बनाउन समस्या देखिँदा सुरुङमार्गको योजना बनाइएको हो । सडक ८ लेनको भएपनि सुरुङमार्ग भने चार लेनको हुनेछ ।’

पेट्रोलियम पदार्थ बोकेका गाडीलाई सुरुङमार्गमा प्रवेश नदिइ सडकबाटै पठाइने बताउँदै उनले सूर्यविनायक–कोटेश्वरखन्डमा पनि जाम हटाउन सुरुङमार्ग बनाउन अध्ययन भइरहेको बताए ।

यो सडकबाट चीनसँगको तातोपानी नाका जाने साथै अरनिको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुली, बर्दिबासलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले शीघ्र सडक विस्तारमा जोड दिँदै सबै ठाउँमा बाटोको मापदन्ड एउटै हुनुपर्ने र सडक विभागले कानुनबाहिर नगइ नियमअनुसार स्थानीयवासीको मागबमोजिम मुआब्जा दिनुपर्नेमा जोड दिए ।

भक्तपुर नगरपालिकाका स्थानीय जनप्रतिनिधि उकेश कवाँले सडक विस्तार गर्दा जनताका माग तथा समस्यालाई ध्यान दिँदै दुर्घटना कम गर्न, धुलो नियन्त्रण गर्न र साइकल लेनसमेत बनाएर सडक विस्तार गरिनुपर्ने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकीले हाल सन्चालनमा रहेको ६ लेन सडकबाट पाठ सिकेर अब विस्तार हुने सडकलाई दुर्घटना भइरहने मृत्युमार्ग हुनबाट जोगाउनुपर्ने तथा चोकचोकमा सडकबत्ती एवं आकाशेपुलको यथेष्ट व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा स्थानीय पशुपति खत्री, अच्युत खत्री, सन्जीव खत्री, महेन्द्र गिरी, शिवलाल बालालगायतले सडक विस्तारले आफूहरुको उठीबास लाग्ने हुँदा उचित क्षतिपूर्ति दिन माग गरे । रासस