२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कुलमानले अघि सारे ‘इनर्जी बैंकिङ प्रणाली’ अवधारणा


0
Shares

बारबरा फाउन्डेसनले बिहीबार राजधानीमा गरेको एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदको समयमा हुने माग धान्न बढी विद्युत् आयात गर्नुपर्ने भन्दै उनले इनर्जी बैंकिङ प्रणालीको विकल्प अघि सारेका हुन् ।

इनर्जी बैंकिङ प्रणालीअन्र्तगत् नेपालमा विद्युत्को उच्च उत्पादन हुने समयमा भारत पठाउने र सुक्खायाममा भारतबाट आयात गर्ने योजना रहेको उनको भनाइ थियो ।

यो समय सुक्खायाम भएकाले भारतबाट ४०० मेगावाट विद्युत् आयात भइरहेको पनि उनले जानकारी दिए ।

मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेश नम्बर–१, ३ र ४ मा सबैभन्दा बढी ८ हजार मेगावाट ‘पाइपलाइन’मा रहेको उनले जानकारी गराए ।

यस्तै, प्रदेश नम्बर–६ मा ६०० मेगावाट पाइपलाइनमा रहेको, प्रदेश–७ मा २०० मेगावाट पाइपलाइनमा रहेको पनि उनले बताए ।

निजी क्षेत्रबाट सन्चालित ४ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भइसकेको जानकारी दिँदै उनले १० हजार मेगावाट क्षमताका आयोजना खरिद सम्झौताको लाइनमा रहेको बताए । २७ सय मेगावाटका लागि स्रोत जुटिसकेको पनि उनले जानकारी गराए ।

सन् २०३० सम्म ११ हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्ने भन्दै उनले त्यसका लागि २० हजार मेगावाट क्षमताका आयोजना अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका निवर्तमान सदस्य अरविन्दकुमार मिश्रले ट्रान्समिसन अहिलेको प्रमुख समस्या रहेको भन्दै प्राधिकरणले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।