२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मेलम्चीको पानी आउने दिन तोक्न सांसदहरुको माग


0
Shares

काठमाडौं, मंसिर १६ । सांसदहरुले मेलम्चीको पानी आउने दिन किटान गर्न माग गरेका छन् ।

आइतबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले उक्त माग गरेका हुन् । समितिले खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना लगायत सरोकारवालालाई बोलाएर गरेको बैठकमा गत दशैंसम्म आउँछ भनेको पानी अहिलेसम्म आउन नसकेको भन्दै मिति यकिन गर्न माग गरेको हो ।

बैठकमा खानेपानी मन्त्री बीना मगर भने अनुपस्थित भएकोमा सांसदहरुले आपत्ति जनाएका थिए ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले मन्त्री मगर अनुपस्थित भएर बैठकको अपमान गरेको भन्दै आपत्ति जनाए ।

बैठकमा आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने दुई महिनामा आयोजनाको काम सकिने दाबी गरेका थिए । तर, सांसदहरुले भने उक्त दाबीमा पनि विश्वास गर्ने आधार नदेखिएको भन्दै ढिलासुस्तीको आलोचना गरेका थिए ।

समितिले शीघ्र आयोजना निर्माण कार्य सम्पन्न गरी उपत्यकाबासीलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पानी उपलब्ध गर्न÷गराउन निर्देशन दिएको छ । आयोजनाको विद्यमान अवस्था बुझ्नका लागि समितिले स्थलगत अध्ययन, अवलोकन भ्रमण पनि गर्ने निर्णय गरेको छ ।