Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


मागेर नभइ आफ्नै पौरखले देशको विकास गर्नुपर्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेर नभइ आफ्नै पौरखले देशको विकास गर्नुपर्ने बताएका छन् ।

साना तथा मझौलाखालाका उद्यमबाट पनि देश विकासमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।

शनिबार राजधानीमा आयोजित दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनले वैदेशिक ऋण र सहयोगको भरमा देश विकास नहुने बताए ।

उनले लघुवित्त संस्थाहरूले उच्च ब्याज लिने गरेको भन्दै नेपाल राष्ट्र बैंकको ‘गम्भीर’ ध्यानाकर्षण पनि गराएका छन् ।

गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने भन्दै उनले लघुवित्त संस्थाहरूले सुविधासम्पन्न सहरी क्षेत्रमा पनि १८ प्रतिशत ब्याज लिने गरेको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार आउँदै गएको भन्दै लघुवित्त संस्थाहरुबाट सुविधा लिएर व्यवसाय गर्न सुझाव पनि दिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लघुवित्त संस्थाले महिलालक्षित आत्मनिर्भरोन्मुख परियोजनामार्फत् गरिबी निवारणमा सहयोग पुग्नेगरी वित्तीय लगानी बढाउन आग्रह गरिन् ।

यस्तै, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकमार्फत् झन्डै तीन खर्ब रुपैयाँ लघुवित्त संस्थामा लगानी भएको जानकारी गराए ।

दुईदिने सम्मेलनमा मुलुकभरका ७५ लघुवित्तका करिब ७०० सदस्य सहभागी छन् ।

गरिबी निवारण र सामाजिक रुपान्तरणका लागि लघुवित्तको अवधारणा सुरु भएको लगानी र ब्याजदरका विषयमा सेवाग्राहीको गुनासो बढ्दै गएको पाइन्छ ।

नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको छ ।