काठमाडौं, मंसिर १५ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलकर्मी सम्मानित भएका छन् ।
नेपाल मार्सल आर्ट्स हाप्किदो संघद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले असोज २६ र २७ गते रुसमा सम्पन्न युरोपियन हाप्किदो च्याम्पियनसिपमा कास्यपदक विजेता प्रदीप थापालाई सम्मान गरे ।
यस्तै, यही मंसिर ५ देखि ९ गतेसम्म चलेको १५औं एसिया प्यासिफिक सितोरियो कराते महासंघको ‘रेफ्री सेमिनार’मा सहभागी भइ अन्तर्राष्ट्रिय निर्णायक हुन सफल गजेन्द्रबहादुर खपांगीलाईसमेत अध्यक्ष दाहालले सम्मान गरेका थिए ।
सो अवसरमा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएका राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य नारायणप्रसाद पौडेल, हाप्किदोका प्रमुख प्रशिक्षक लानम लामा र टोली व्यवस्थापक दीपेन्द्र तामाङलाईसमेत अध्यक्ष दाहालले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खेलाडी राष्ट्रलाई संसारमा चिनाउने आधार भएकाले उनीहरुको उचित सम्मान र मूल्यांकन हुनु आवश्यक रहेको बताए ।
खेलाडीको उचित सम्मानका लागि आफूले सक्दो कोसिस गर्ने उनको भनाइ थियो । रासस








प्रतिक्रिया दिनुहोस्