
काठमाडौं जोड्ने सुरुङमार्ग निर्माणको जिम्मा निजी क्षेत्रले लिएको थियो । तर, निर्माणको काम अघि बढ्न नसकेपछि यो आयोजना अलपत्र अवस्थामा छ ।
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले सुरुङमार्ग बनाउन अनुमति लिएपनि आर्थिक स्रोत जुटाउन सकेको छैन ।
निजी क्षेत्रले पटक–पटक म्याद थपमात्रै गरेको, बनाउने लक्षण नदेखेपछि विभाग अगाडि सर्न लागेको जनाइएको छ ।
सडक विभागका महानिर्देशक गोपाल सिग्देलले सरकारले जिम्मेवारी दिए सुरुङमार्ग बनाउन विभाग तयार रहेको बताए ।
वि.सं. २०६९ वैशाखमा सरकारले नेपाल पूर्वाधार विकास कम्पनीलाई सुरुङमार्ग निर्माणका लागि अवसर दिएको थियो । शिलान्याससमेत भइसकेको थियो ।
तत्कालीन सम्झौताअनुसार सन् २०१७ जनवरीदेखि नै सुरुङमार्ग सन्चालनमा आइसक्नुपर्ने थियो । तर, हालसम्म पनि निर्माणसमेत सुरु हुन सकेको छैन ।
५८ किलोमिटर दूरीको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गको सुरुको लागत ३५ अर्ब रुपैयाँ भनिएको थियो भने पछि ५० अर्ब रुपैयाँ पु¥याइएको थियो ।
सुरुङमार्गलाई क्यानडाका लगानीकर्ताले २८ अर्ब ऋण दिने सम्झौतासमेत गरेका थिए ।
यस्तै, गैरआवासिय नेपाली संघका वर्तमान अध्यक्ष भवन भट्टले पनि लगानी गर्ने सम्झौता गरेका थिए ।
सन्चालक समितिका विभिन्न पदाधिकारीहरुको अकर्मन्यता र आर्थिक चलखेलका कारण यो आयोजना असफल बनेको बताइन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, गैरआवासीय नेपाली संघका भवन भट्ट, इन्जिनियर लालकृष्ण केसी कम्पनीको अध्यक्ष भएपनि आयोजनामा लगानी जुटाउन भने असफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्