
बिराज रोस्यारा (इमेज)
कैलाली, मंसिर १४ । मुक्तकमैया पुनःस्थापना आन्दोलन समिति कैलालीले पुनःस्थापना हुन बाँकी मुक्तकमैयालाई उनीहरु बसिरहेकै ठाउँमा पुनःस्थापना गर्न माग गरेको छ ।
समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै चार किल्ला किटान भएका तर लालपुर्जा नपाएका मुक्तकमैयाहरुलाई सोही ठाउँमा पुनःस्थापना गर्नुपर्ने, छुटेका मुक्तकमैयाहरुको तथ्यांक तयार गरी परिचयपत्र उपलब्ध गराउनुपर्नेलगायतका माग गरेको हो ।
मुक्तकमैया पुनःस्थापना जिल्ला समितिको गत कात्तिक १६ गतेको निर्णयले विभिन्न ठाउँमा बसेका मुक्तकमैयाहरुलाई बेवास्ता गरेको भन्दै उनीहरु बसिरहेकै ठाउँमा पुनःस्थापना गर्नुपर्ने माग गरेको हो ।
सरकारको पुनःस्थापना समितिले मुक्तकमैयाको लगत तयार गरी पुनःस्थापना प्रक्रिया अगाडि बढाएपनि कतिपयलाई बेवास्ता गरेको आन्दोलन समितिको ठहर छ ।
यसैगरी, सहकारीको माध्यमबाट मुक्तकमैया घुम्तीकोष सन्चालन गरी आय–आर्जनको व्यवस्था गर्नुपर्ने माग पनि समितिको छ ।
समितिकाअनुसार कैलालीमा रातो र नीलो परिचयपत्र पाएका जम्मा ८ हजार ९१० परिवार मुक्तकमैया रहेकामा हालसम्म ८ हजार ४१८ परिवारको पुनःस्थापना भएको छ ।
प्रतिक्रिया दिनुहोस्