१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मेलम्ची खानेपानी आयोजनाका कामदारद्वारा तलब नपाएपछि काम ठप्प


0
Shares

आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएकोे इटालियन कम्पनी ‘सीएमसी’ले कामदारहरुलाई मंसिर महिनादेखिको तलब नदिएपछि कामदारहरुले काम बन्द गरेका हुन् । कम्पनीले पटक पटक सूचना टाँस गरेर कामदारको तलब दिने आश्वासन दिएपनि तलब भने नपाएको भन्दै केही कामदारले बिहिबारदेखि नै काम छोडेर हिँडेका छन् भने बाँकीले शनिबारबाट सबै काम रोकेका हुन् ।

‘मंसिर महिनादेखिको तबल पाएको छैन,’ नाम नखुलाउने शर्तमा एक कामदारले भने, ‘काम नरोकी तलब पाएको इतिहास नभएकै कारण काम रोकेका हौं ।’ उनका अनुसार कम्पनीले यसअघि पनि पटक पटक लामो समय तलब नदिने र काम रोकेपछि मात्रै तलब दिने गरेको बताए ।

एक स्थानीय ठेकेदारका अनुसार कामदारहरुको नेतृत्व गर्दै तलब तथा अन्य सुविधा माग गर्ने कामदारलाई कम्पनीले कामबाट नै निकाल्ने गरेको छ । यसकारण पनि रोजीरोटी नै गुम्ने भएकोले यो विषयमा बोल्न जो कोही कामदार चाँहदैनन् । यो पटक भने लामै समय भएर आफुहरुलाई हातमुख जोड्नै गाह्रो भएकोले मात्रै काम रोकेको उनले बताए ।

आयोजनमा कम्तिमा अठार हजारदेखि बढिमा दुईलाखसम्म तलब खाने कामदार छन् । ती कामदारले मंसिर महिनादेखि तलब नपाएको बताएका छन् । ‘तीन पटकसम्म सूचना टाँसेर तलब दिने भनियो’, सो आयोजनमा काम गरिरहेका र तीन महिना अघिदेखिको तलब र अन्य सेवा सुविधा नपाएर काम छोडेका एक कामदारले नाम नख्ुलाउने सर्तमा भने, ‘सूचना टाँसेर पैसा दिने आश्वासनमात्र दिईयो । पैसा दिईएन ।’

आयोजनाको काम भईरहेको सुन्दरीजल साईट, सिन्धु अडिट साईट, ग्याल्थुम साईट र अंम्बाथान साईट गरि चार स्थानका करीब ६ सय कामदारहरुले तलब नपाएपछि आयोजनाको सम्पूर्ण काम बन्द गरेका हुन् । उनिहरुले आफूले पाउनपर्ने सबै तलब र सेवा सुविधा नपाएसम्म काममा नफर्कने समेत जनाएका छन् ।

कम्पनीले सरकारबाट पाउनुपर्ने रकम भने सम्झौता अनुसार नै पाएको मेलम्ची खानेपानी विकास समितिका सुचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । ‘हामीले सम्झौताअनुसार नै रकम उपलब्ध गराएका छौं,’ पन्तले भने, ‘कम्पनीले आजभोलिमा कामदारको समस्या समाधान गर्ने हामीले जानकारी पाएका छौं ।’

सम्झौताअनुसार नेपाल सरकारले रकम सिधै कम्पनीको इटालीमै रहेको बैंक खातामा जम्मा गरीदिने र उसले आवश्यकता अनुसार यहाँबाट सो रकम भिक्ने व्यवस्था छ । यसले गर्दा पनि कम्पनीले सो रकम आफ्नो अनुकुलमा इटालीमै खर्च गर्ने र कामदारलाई भने ढिला गरी उपलब्ध गराउने गरेको एक जानकार बताउछन् ।

यसअघि पनि यो आयोजनामा काम गरिरहेका कामदारहरुले तलब नपाएको भन्दै पटक पटक काम बन्द गर्दै आएका थिए । यसरी पटक पटक कामदारहरुले नै काम बन्द गर्नु र अन्य विविध कारणले गर्दा २०७५ को नयाँ बर्षमा काठमाडौं पानी पुर्‍याउने आयोजनाको लक्ष्य भने टर्ने भएको छ ।

मेलम्चीदेखि काठमाडौंसम्म खानेपानी पुर्‍याउन तीन खण्डमा सुरुङ निर्माण कार्य भइरहेकोमा दुईखण्डको भने ‘ब्रेक थ्रु’ भइसकेको छ । कुल २७ हजार ५८४ मिटरमध्ये २७ हजार ३२३ मिटर सुरुङ खनेर पुरा भएको छ । बाँकी रहेको ग्यल्थुम–सिन्धु खण्डको दुई सय ६१ मिटर सुरुङ अझै खन्न बाँकी नै छ । ‘अहिने दैनिक ४ मिटरको औसतमा सुरङ खन्ने काम भइरहेको छ’ मेलम्ची खानेपानी विकास समितिका सुचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, ‘यो औसतमा तलमाथि भइरहने हुँदा मार्च÷अप्रिल सम्ममा सुरुङखन्ने काम सकिन्छ ।’ यसअघि फेब्रुअरी भरीमा सुरुङ खनिसक्ने लक्ष्य लिइएको थियो ।

लगातार काम भइरहेमा पनि यही गतिमा सुरुङ खनिएमा अझै ६५ दिन सुरुङ खन्नमात्रै लाग्छ । सुरुङ खनिसक्नासाथ पानी काठमाडौं पुग्दैन । सुरुङ निर्माणपछि पनि यसको प्राविधिक तथा रासायनिक परीक्षणको काम बाँकी नै रहन्छन् । यसको लागि पनि कम्तीमा तीन महिना लाग्छ ।

सुरुङ छेड्ने काम अन्तिम चरणमा पुगेसँगै सुरुङमा पानी लान आवश्यक ‘फाइनल सपोर्ट र इन्भर्ट लाइनिङ’ निर्माणको काम पनि गर्नुपर्छ । खोलामा ड्याम बनाई सुरुङमा पानी छिराउने महत्वपुर्ण काम पनि बाँकी नै छ । ड्याम बनाउने काम भइरहे पनि यसले अपेक्षाकृत उपलब्धी भने हासिल गरेको छैन । बर्खामा ड्याम बनाउन सकिदैंन । यदि बर्खा अगाडि नै ड्याम बनेन भने पानी सुरुङमा हाल्न अर्को हिउँद कुर्नुपर्ने हुन्छ । अहिलेको कार्य प्रगति हेर्दा बर्खा अगाडि ड्याम बनिसक्ने सम्भावना पनि कम छ ।

२५ अर्बभन्दा बढि लगानीमा निर्माणाधीन आयोजनाको सुरुङ निर्माण इटालियन कोअपरेटिभ मुरातोरी सिमेन्ट डि रभेन्ना (सिएमसी) कम्पनीले आठ अर्ब ७० करोडमा ठेक्का लिएको हो । यसअघि चिनियाँ कम्पनी फिप्टीन रेल्वे व्युरोले ४० करोड रुपैयाँ भुक्तानी लिएको थियो । चिनियाँ कम्पनीले सन् २०१० अप्रिलमा काम सुरु गरेर २०१२ सेप्टेम्बरमा ठेक्का रद्द गरेपछि सन् २०१३ अक्टोबरबाट सिएमसीले सुरुङ खन्न सुरु गरेको हो ।