Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


महिला साफ च्याम्पियनसिप विराटनगरमा


0
Shares

काठमाडौं, मंसिर १३ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

एन्फा प्रवक्ता किरण राईकाअनुसार सो प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ ।

गत महिना दक्षिण एसियाली फुटबल महासंघको बैठकले साफको आगामी संस्करण नेपालमा गर्ने निर्णय गरेको थियो ।

यसअघि, उक्त प्रतियोगिता आयोजनाको जिम्मा श्रीलंकालाई दिइएको थियो । श्रीलंकाले आयोजना गर्न नसक्ने जनाएपछि साफ प्रतियोगिता निर्धारित् समयभन्दा एक महिनापछि सारेर नेपालमा हुन लागेको प्रवक्ता राईले बताउनुभयो ।

यसअघि, सो प्रतियोगिता पुस २ गतेदेखि श्रीलंकामा गर्ने गरी खेलतालिका सार्वजनिक गरिएको थियो ।

नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । सो प्रतियोगितामा नेपाल उपविजेतासम्म बनेको छ ।

राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट

प्रदेश नम्बर–५ मा माघ २५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुदअन्तर्गत् जिल्ला छनोट शुक्रबारदेखि सुरु हुने भएको छ ।

उक्त छनोट ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म सन्चालन हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुक्रबारदेखि हुनेछ ।

बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट भने हुने छैन । यी पाँच खेलको भने सीधै प्रदेश छनोट सन्चालन गरिने उनले जानकारी दिए ।

जिल्ला छनोटमा ३१ हजार ८४५ खेलाडीले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।

यही मंसिरमा आयोजना गर्नेगरी तय भएको आठौं राष्ट्रिय खेलकुद पूर्वाधार अभावका कारण दुई महिना सारेको हो ।

गत महिना नुवाकोटको ककनीमा बसेको परिषदको बोर्ड बैठकले मंसिर ८ गते नेपालगन्ज रंगशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय गरेको थियो ।

परिषदले पछि सो प्रतियोगिता माघ २५ देखि फागुन १ गतेसम्म गर्नेगरी मिति तय गरेको हो । रासस