काठमाडौं, मंसिर १२ । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
भद्रकालीस्थित सैनिक मुख्यालयको खेलमैदानमा बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
योसँगै सशस्त्र लगातार चौथोपटक उपाधि जित्न सफल भएको हो । एपीएफले तेस्रो, चौथो, पाँचौं र छैटौं संस्कारमा उपाधि जितेको हो ।
निर्धारित् ९० मिनेट र थप गरिएको २० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा एपीएफले बाजी मार्यो । पेनाल्टीमा एपीएफका साबित्रा भण्डारी, रेनुका नगरकोटी, अनु लामा र अनिता बस्नेतले गोल गरे ।
यस्तै, आर्मीका अन्जना रानामगर र निशा बोहराले गोल गरे । तर, कृष्णा खत्री, अञ्जली सुब्बा र इन्दिरा राईले गोल गर्न नसक्दा आर्मी उपाधिबाट बन्चित भएको हो ।
यसअघि, खेलमा १९औं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
दोस्रो हाफमा आर्मी खेलमा फर्कंदै बराबरी गर्न सफल भयो । खेलको ६३औं मिनेटमा विमला चौधरीले गोल गरेपछि आर्मीले खेलमा १–१ को बराबरी बनाएको थियो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
उपाधिसँगै एपीएफले रु तीन लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले रु एक लाख ५० हजार प्राप्त गर्यो ।
सेमिफाइनलमा पुगेका पुलिस र प्रदेश नम्बर–२ ले रु ५०/५० हजार पुरस्कार पाएका छन् ।
प्रतियोगितामा आर्मीकी पुनम जर्गामगरले सर्वोकृष्ट खेलाडी घोषित हुँदै एकथान स्कुटर प्राप्त गरिन् ।
उत्कृष्ट फरवार्ड एपीएफकी सावित्रा भण्डारी, मिडफिल्डरमा आर्मीकी विमला चौधरी, डिफेन्डरमा आर्मीकी सुमित्रा चौधरी, गोलकिपरमा एपीएफकी एञ्जिला सुब्बा र उत्कृष्ट प्रशिक्षक एपीएफका जनक सिंह घोषित हुँदै जनही रु पाँच हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनालगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।
यही मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागटी टोली, सात प्रदेश तथा भारतको सिक्किम र बिहारबाट दुई टोली गरी १२ टोलीको सहभागिता थियो । रासस








प्रतिक्रिया दिनुहोस्