काठमाडौं, मंसिर १२ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबको अंकविहीन यात्रा टुंगिएको छ ।
सुरुआतका तीन खेलसम्म अंकविहीन दुवै टोलीले चौथो खेलमा आपसमा बराबरी गरेसँगै अंकविहीन यात्रा टुंगिएको हो ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ३–१ ले अग्रता लिएको अवस्थामा जावलाखेलले आफूलाई सम्हाल्न नसक्दा खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।
२६औं मिनेटमा फ्रेन्ड्सका विकास लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएकामा मध्यान्तरअघिको इन्जुरी समयमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई बराबरीमा ल्याए ।
४७औं मिनेटमा फोडे फोफना र ५२औं मिनेटमा सुमन डंगोलले गोल गर्दैै जावलाखेललाई ३–१ को मजबुत् अवस्थामा पुर्याए ।
तर, ६८औं मिनेटमा फोफना ब्राहिमन र ८२औं मिनेटमा धीरज श्रेष्ठले गोल गर्दै फ्रेन्ड्सलाई बराबरीमा ल्याए । यो बराबरीले दुवै टिमको १–१ अंक भएको छ ।
हिमालयन शेर्पाको अपराजित यात्रा कायमै
जारी लिगमा हिमालयन शेर्पा क्लबको अपराजित यात्रा कायमै रहेको छ ।
बुधबारै भएको आफ्नो चौथो खेलमा हिमालयनले मच्छिन्द्र क्लबलाई २–० ले पराजित गरेसँगै अपराजित यात्रालाई कायमै राख्न सफल भएको हो ।
कर्ण लिम्बू र आशिष गुरुङले एक/एक गोल गर्दैै टिमलाई जिताए ।
यो जितसँगै तीन जित र एक बराबरीसहित १० अंक बटुलेको हिमालयन तेस्रो स्थानमा पुग्न सफल भएको छ ।
चौथो चरणको समाप्तिसम्म शतप्रतिशत नतिजासहित मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहँदा १० अंकको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ । समान ९ अंकसहित थ्रीस्टार र संकटा क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन् ।
फ्रेन्ड्स र जावलाखेलले अंक बाँडेपछि अर्को १ अंकको न्यूरोड टिम (एनआरटी) गोल अन्तरको आधारमा पुछारमा पुगेको छ ।
बुधबारका खेलसँगै चौथो चरणका खेल सकिएका छन् । पाँचौं चरणका खेलहरु शुक्रबारदेखि हुने भएका छन् ।








प्रतिक्रिया दिनुहोस्