Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


श्रम स्वीकृतिका लागि टोकन प्रणाली


0
Shares

काठमाडौं, मंसिर १२ । वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली सुरु गर्ने भएको छ ।

यही मंसिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले निकै सास्ती खेप्दै आएका छन् । श्रम स्वीकृति लिनकै लागि अघिल्लो दिनदेखि लाइनमा बस्नुपर्ने बाध्यता छ ।

वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस)बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमामात्र सेवा प्राप्त गर्नसकिने उनले बताए ।

दैनिक ९०० लाई टोकन वितरण गर्नेगरी सफ्टवेयरको विकास गरिएको छ ।

प्रमुख खतिवडाले टोकन प्राप्त गर्ने युवालाई सोही दिन सेवा प्रदान गरिने बताए । उनले सफ्टवेयरले दिएको मिति र समयभित्रै सेवा लिन कार्यालयमा आउनसमेत आग्रह गरे ।

प्रमुख खतिवडाले भने–‘सेवाग्राहीले टोकन लिएको दिनमै सेवा लिन आउनुभयो भने सोही दिन हामी ९०० लाई नै सेवा प्रदान गर्नसक्छौं । यसबाट सेवाग्राही भोक, निन्द्रा नभनी लाइनमा बस्न आउनुपर्दैन । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउनसक्छौं ।’

कार्यालयबाट सरकारले रोजगारीका लागि खुला गरेका ११० मुलुकका लागि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति प्रदान हुँदै आएको छ ।

अहिले दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ ।

कार्यालयले बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्दै आएको छ । शनिबारका दिनसमेत श्रम स्वीकृति प्रदान गरिँदै आइएको प्रमुख खतिवडाले जानकारी दिए ।

चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीकाक्रममा विदेशिने युवाको चाप ह्वात्तै बढेको छ । रासस