Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण अन्तिम चरणमा


0
Shares

वीरेन्द्र कर्ण (रासस)

वीरगन्ज, मंसिर १२ । नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराकाअनुुसार नेपालतर्फको ३९.२ किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

तीव्रगतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महिनाभित्र काम सम्पन्न भइ भारत, बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत् पेट्रोलियम पदार्थ ल्याउनसकिने बताउँछन्, परियोजना कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौडेल ।

उनले राससलाई भने–‘बाधा–अवरोध नभए तीन महिनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउने पक्का छ । यसलाई समयमै सम्पन्न गर्न परियोजनाले सक्रियरुपमा कार्यलाई अगाडि बढाएको छ ।’

नेपालतर्फ अब १८.२ किलोमिटर पाइप बिछ्याउने काम बाँकी रहेको छ । बाँकी रहेको भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा ८ किलोमिटर, नाला, स–साना पुल–पुलेसा, नदी, क्रसिङ सडक, गन्डक क्षेत्रमा पाइपलाइन बिछ्याउन बाँकी रहेको छ ।

निकुञ्जभित्र रहेको करिब पाँच हजार रुख काटने काम निकट भविष्यमै हुने तथा भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३.७ किलोमिटरमध्ये मोतिहारी–रक्सौल क्षेत्रमा टुक्राटुक्री काम बाँकी रहेको परियोजनाको कार्यालय सिमराले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको वीरगन्ज भन्सारस्थित रजतजयन्ती चोक वाइपास क्षेत्रमासमेत पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

जीतपुर–परवानीपुर क्षेत्रमा करिब दुई किलोमिटर क्षेत्रमा बाधा–अवरोध आएकाले सो क्षेत्रमा बोरिङ प्रविधिमार्फत् पाइप गाड्ने काम भइरहेको पनि परियोजनाका इन्जिनियर पौडेलले जानकारी दिए ।

नेपालको ‘लाइफलाइन’कारुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ ।

गत गत चैतको अन्तिम साता भारत भ्रमणकाक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए ।

शिलान्यासपछि यस कार्यले गति लिँदै जमिनमुनि पाइप बिछ्याउने कामले तीव्रता पाएको हो ।

पथलैयादेखि अमलेखगन्जसम्म ८ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन जाने भएकाले निकुन्जभित्रका पाँच हजार रुख काट्न सहमति भइसकेकाले चाँडै नै सो कामको थालनी गरिने परियोजना कार्यालय सिमराले जनाएको छ ।

पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भन्डारण गर्नका लागि अमलेखगन्ज आयल निगमको डिपोमा तीन हजार ९०० किलोलिटर क्षमता भएको दुई तथा चार हजार १०० किलोलिटर क्षमता भएको दुईओटा गरी चार ट्यांकरको मर्मत–सम्भार द्रुतगतिमा भइरहेको छ । एउटा ट्यांकर तयार भइसकेको छ भने तीनओटा ट्यांकर बनाउने काम भइरहेको बताइएको छ ।

तीन महीनाभित्र निर्माणकार्य सकी सन्चालनमा ल्याउने लक्ष्य लिइएको सो पाइपलाइन निर्माण सम्पन्न भएपछि पटनाबाट प्रतिघन्टा २५० लिटर पेट्रोलियम पदार्थ पाइप लाइनबाट भित्रिनेछ । पहिलो चरणमा परीक्षणकारुपमा डिजेल आउने बताइएको छ ।

जमिनमुिन साढे दुई मिटर तल तथा पौने ११ इन्चको ‘माइल स्टिल’ भन्ने कालो रङको पाइप राखिएकाले खिया भने लाग्दैन ।

यो प्रोजेक्ट सन्चालनमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास लिइएको छ ।