
काठमाडौं, फागुन २९ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ ।
आगामी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तथा कुमारी लक्ष्मी राई चुनावी मैदानमा उत्रिएका छन् ।
भण्डारीलाई सत्तारुढ वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ ।
निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्न सकिने व्यवस्था गरेको छ ।
काठमाडौंको बानेश्वरस्थित संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा मतदान केन्द्र तोकिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । कानुनले संघीय संसद् सदस्यको मतभार ६९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ ।
मतभार फरक–फरक भएकाले निर्वाचन आयोगले मतपत्रसमेत दुई थरिका व्यवस्था गरेको छ ।
संघीय संसद्का सदस्यहरुले सेतो कागजमा हरियो रंगले छापिएको र प्रदेशसभाका सदस्यले सेतो कागजमा रातो रंगले छापिएको मतपत्र पाउने छन् ।
मतपत्रमा दुई उम्मेदवारको नाम उल्लेख रहने र मतदाताले नामको अगाडि स्वस्तिक चिह्न लगाएर मतदान गर्नुपर्ने आयोजले जनाएको छ ।
प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभामा ५ सय ५० जना मतदाता हुने व्यवथा छ ।
आयोगले संघीय संसद्मा ३ सय ३१ र प्रदेशसभामा ५ सय ५९ जनाको अन्तिम नामावली प्रकाशित गरेको छ ।
जसमा नामावली प्रकाशनपछि मात्रै शपथग्रहण गर्न पाएका राष्ट्रियसभामा सरकारलको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीन सदस्यले मतदान गर्न पाउने छैनन् ।
प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङको नाम पनि अन्तिम नामावलीमा छैन । अदालतबाट दोषी प्रमाणित भई सजाय सुनाइएका गुरुङ फरार छन् ।
कानुनअनुसार कुल मतदाताको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार विजयी हुने छन् ।
संघीय संसद्का ३ सय ३४ जनाको मतभार २६ हजार ३ सय ८६ तथा प्रदेशसभाका ५ सय ५० जनाको कुल मतभार २६ हजार ४ सय हो ।
तर आयोगले मतदाता नामावली ८ सय ८० जनाको नाम मात्र प्रकाशित गरेकाले उनीहरुको कुल मतभार ५२ हजार ५ सय १ हुन्छ ।
त्यसअनुसार राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले २६ हजार २ सय ५१ मत ल्याउनुपर्छ ।
एमाले र माओवादीसहितको वाम गठबन्धनकै मतदाताबाट उक्त मत पुग्ने देखिन्छ ।
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको समेत समर्थन वाम गठबन्धनलाई रहेकाले भण्डारीले सहजै चुनाव जित्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्