Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


आन्तरिक खिचातानीले रंगशाला निर्माण अलपत्र


0
Shares

ध्रुव भट्टराई

विराटनगर, मंसिर १२ । मोरङको बैजनाथपुरमा प्रस्तावित रंगशाला निर्माणको काम अलपत्र बनेको छ । प्रदेश नम्बर १ को महत्वपूर्ण र सुविधा सम्पन्न रंगशाला निर्माणको काम आन्तरिक खिचातानीको चपेटामा परेको हो ।

राष्ट्रिय खेलकुद परिषदले २०५५ सालमा ८५ लाख रुपैयाँ लागतमा रंगशाला निर्माणका लागि खरिद गरेको जग्गा बजेट अभाव र समन्वय नहुँदा अलपत्र परेको छ । उक्त ठाउँ हाल स्थानीयवासीले गौचरणको रुपमा प्रयोग गर्न थालेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् र खेल पदाधिकारीबीचको आन्तरिक द्वन्द्व तथा बजेटको अपर्याप्तताका कारण काममा अवरोध भएको हो । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्थायी संरचना निर्माण गरी केही खेल यही मैदानमा खेलाइएको थियो । त्यसपछि यहाँ कुनै खेलकुद प्रतियोगिता हुन सकेको छैन ।

हालसम्म रंगशालाका लागि पटकपटक गरी लगभग ७ करोड रुपैयाँ बजेट खर्च भइसकेको छ ।

राष्ट्रिय खेलकुद परिषदको उदासिनताका कारण रंगशाला निर्माण हुन नसकेको पूर्वाञ्चल क्षेत्रीय खेलकुद समितिका अध्यक्ष रवीन नगरकोटीको बुझाइ छ ।

दुई दशकको अवधिमा जालीले घेरेर कामचलाउ मैदान बनाउने बाहेकका कुनै संरचना बनेका छैनन् । रंगशाला निर्माणका लागि सरकारले ५० लाख रकम विनियोजन गरेको छ । गुरुयोजना अनुसार रंगशाला बनाउँदा करोडौँ खर्च लाग्ने अनुमान छ ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालयका प्रमुख टेकप्रसाद कट्टेल भने जग्गा खरिद गर्दा प्रस्तावित डिजाइन नै परिवर्तन गरिएको बताउछन् ।

विराटनगरस्थित सहिद रंगशाला साँघुरो भइसकेको अवस्थामा त्यसको विकल्पका रुपमा वैजनाथपुर रंगशालाको स्तरोन्नति गर्न सके खेलाडि र खेलपे्रमीलाई न्याय हुने थियो ।