
दोस्रो कार्यकालमा निर्वाचित भएपछि उनी अब पाँच वर्षसम्म मुलुकको सर्वोच्च पदमा आसिन हुनेछिन् ।
भोजपुरको मानेभन्ज्याङमा वि.सं. २०१८ साल असार ५ गते जन्मिएकी विद्यादेवी भण्डारी गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा भारी मत ल्याएर पुनः निर्वाचित भएकी छन् ।
बाबु स्व. रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको कोखबाट जन्मेकी भण्डारीले भोजपुरकै विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट माध्यमिक तहको शिक्षा हासिल गरेकी थिइन् ।
भोजपुर क्याम्पसबाट आइए उत्तीर्ण गरेपछि उनले महेन्द्र मोरङ कलेज विराटनगरमा स्नातक तहसम्मको अध्ययन गरेकी थिइन् ।
भोजपुर क्याम्पस पढ्दा वि.सं. २०३५ सालमै तत्कालीन नेकपा मालेसम्बद्ध युवा लीगमा संगठित भएर भण्डारीले राजनीतिक जीवन सुरु गरेकी हुन् ।
विद्यार्थी संगठन र जिफन्टमा काम गरेकी उनी २०५४ सालमा नेपालगन्जमा भएको नेकपा एमालेको छैटौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन् भने अखिल नेपाल महिला संघको अध्यक्षकारुपमा दुई कार्यकाल काम गरिन् ।
उनी वि.सं. २०६४ सालमा नेकपा एमालेको आठौं महाधिवेशन र २०७१ सालमा भएको नवौं महाधिवेशनबाट पार्टीको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
उनले वि.सं. २०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगतरुपमा जनवादी विवाह गरेकी थिइन् ।
तत्कालीन माले महासचिव जननेता भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी निधन भएपछि सक्रिय राजनीतिमा फर्किएकी उनले काठमाडौंको क्षेत्र नम्बर–१ को उपनिर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन् ।
वि.सं. २०५१ को मध्यावधि चुनावमा काठमाडौंको क्षेत्र–२ बाट तत्कालीन सभामुख दमननाथ ढुंगानालाई हराएर सांसद भएपछि उनको राजनीतिक उचाइ झनै चुलियो ।
भण्डारी काठमाडौं क्षेत्र नम्बर–२ बाटै २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी थिइन् ।
वि.सं. २०५४ सालमा जनसंख्यामन्त्री तथा वातावरणमन्त्री र २०६७ देखि ०६९ सम्म रक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरेकी भण्डारी दोस्रो संविधानसभामा भने समानुपातिकतर्फबाट सभासद बनेकी थिइन् ।
नयाँ संविधानको निर्माणपछि पहिलोपटक भएको दोस्रो राष्ट्रपति निर्वाचनमा विजयी भएसँगै पहिलो महिला राष्ट्रपति बनेकी भण्डारीले नेपालको राष्ट्राध्यक्षजस्तो गरिमामय उच्च पदको जिम्मेवारी सम्हाल्ने ऐतिहासिक अवसर पाएकी थिइन् । उनको पहिलो कार्यकाल करिब दुई वर्षकोमात्र रह्यो ।
पहिलो कार्यकालमा उनी खासै विवादमा आइनन् । कार्यकालको अन्तिम समयमा भने शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा तीनजनालाई मनोनीत गर्न गरेको सिफारिस तत्काल स्वीकृत नगरेकामा केही विवाद देखिएको थियो ।
मुलुकमा स्थायी सरकार निर्माण भएको बेला पाँच वर्षे दोस्रो कार्यकालका लागि भारी मतका साथ निर्वाचित राष्ट्रपति भण्डारीसामु अब नेपालको संविधान र सिंगो राष्ट्रको संरक्षककोरुपमा विवादरहित ढंगले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने दायित्व थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्