
परिषदका सचिव नृपध्वज निरौलाले बुधबार अपराह्न सचिवस्तरीय निर्णय गर्दै गत साउन २१ गते नै पराजुलीको उमेर ६५ वर्ष पुगिसकेको देखिएकाले उनी पदमुक्त भइसकेको जानकारी गराएका हुन् ।
सचिवालयले न्याय परिषद सचिवालयमा रहेको पराजुलीको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले बुधबारमात्रै उपलब्ध गराएको पत्रको आधारमा पराजुली पदमुक्त ठहर भएको भन्दै सोही ब्यहोराको पत्र प्रधानन्यायाधीश पराजुलीलाई बुझाएको छ ।
पराजुली पदमुक्त भइसकेको बोधार्थ जानकारी राष्ट्रराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको कार्यालय, सर्वोच्च अदालत, कानुन मन्त्रालय, निजामती किताबखाना, सञ्चयकोष, नागरिक लगानी कोष तथा सर्वोच्चका न्यायाधीशहरुलाई पनि गराइएको छ ।
न्यायपरिषद सचिवले उक्त निर्णय सार्वजनिक गर्ने र प्रधानन्यायाधीश पराजुलीले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउने समय भने जुधेको थियो । तर, पराजुलीलाई उक्त पत्र भने राष्ट्रपतिको शपथपछिमात्रै बुझाइएको जनाइएको छ ।
प्रधानन्यायाधीश नै प्रमुख हुने न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश पदमुक्त भएको पत्र काटेको विषयमा कानुनविद्हरुको मत भने विभाजित देखिएको छ । साथै, राष्ट्रपतिको शपथग्रहणको वैधानिकतामाथिसमेत प्रश्न उठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्