२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कार्यक्रमको घोषणा सकारात्मक, भड्किलो प्रचारप्रति असन्तुष्टि (भिडियो)


0
Shares

काठमाडौं, मंसिर ११ । सरकारले सामाजिक सुरक्षा कोषको कार्यक्रमको घोषणा गर्नुलाई नागरिकस्तरबाट सकारात्मकरुपमा लिइएपनि कार्यक्रम लागू हुनुअघि नै गरिएको तामझाम र भड्किलो प्रचारप्रति भने असन्तुष्टि व्यक्त गरिएको छ ।

काठमाडौंको मुख्य सडकका पोलहरु, पत्रपत्रिकामा प्रधानमन्त्री केपी शर्मा ओलीका ठूला–ठूला तस्वीर, नाराहरुले छपक्कै ढाकिएको छ ।

सडकमा टांगिएका ठूला–ठूला होर्डिङबोर्ड र डिजिटल बोर्डहरुले यतिबेला बटुवादेखि सवारीमा हुइँकिने सबैको ध्यानकेन्द्रित गरेको छ ।

सामाजिक सुरक्षा कोष घोषणाको तामझाम दृश्यलाई हेर्दा साँच्चै प्रधानमन्त्रीले नारामा उल्लेख गरेकोजस्तै मुलुक नयाँ युगमा प्रवेश गरेकोजस्तो छनक त दिन्छ तर वास्तिकता भने अर्कै छ ।

जनजीविकालाई सुरक्षित गर्न सरकारले घोषणा गरेको कार्यक्रम स्वागतयोग्य भएतापनि बिनागृहकार्य र करोडौं खर्चिएर गरिएको प्रचारशैलीप्रति भने नागरिकस्तरबाट असन्तुष्टि व्यक्त गरिएको छ ।

सबै श्रमिकलाई पेन्सन, ६० वर्ष नाघेपछि आजीवन पेन्सनलगायतका महत्वाकांक्षी कार्यक्रम घोषणा गरिएतापनि यसलाई कार्यान्वयन गर्न आन्तरिक स्रोतको व्यवस्थापन र भ्रष्टाचारलाई निर्मूल पार्नुपर्ने नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित बताउँछन् ।

सुरुआतमै राज्यको ढुकुटी रित्याएर गरिएको तामझाम र भड्किलो प्रचारशैलीभन्दापहिले परिणाममुखी काम गरेर नागरिकको तर्फबाट जनताको मनमा फोटो टाँस्ने काम प्रधानमन्त्रीले गरिदिएको भए बेस हुने सुझाव नागरिक तहबाट आएको छ ।

भिडियो हेर्नुहोस्