
पराजुलीको पदमुक्ति र राजीनामा एवं वरिष्ठ न्यायाधीश दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकारुपमा पदभारग्रहणसँगै यो प्रकरणको पनि पटाक्षेप भएको छ ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरहदको विवादका कारण विगत केही सातादेखि नराम्ररी तातिएको न्यायालय पराजुलीको पदमुक्ति प्रकरणपछि कसरी अघि बढ्छ भन्ने जिज्ञासा धेरैको मनमा थियो ।
न्यायपरिषदका सचिवको पत्रबाट बुधबार अपराह्न पदमुक्त प्रधानन्यायाधीश पराजुलीले त्यो पत्र क्षेत्राधिकारबाहिरको भएकाले त्यसलाई मान्यता नदिने सार्वजनिक प्रतिक्रिया दिएका थिए भने वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले उनी पदमुक्त भइसकेकाले अब आफूले कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा कार्यभार सम्हाल्ने बताएका थिए ।
फलतः बिहीबार बिहान सर्वोच्च अदालतको दृश्य कस्तो होला भन्ने जिज्ञासा मुद्दाका पक्ष–विपक्षमात्र हैन, कानुन व्यवसायी, नागरिक समाज र राजनीतिक वृत्तमासमेत देखिन्थ्यो भने मिडियाको चासो पनि निकै बढेको थियो ।
सोही कारण कार्यालय समयअगावै साढे ९ बजेतिरै सर्वोच्च अदालतबाहिर सन्चारकर्मीको बाक्लो उपस्थिति भइसकेको थियो भने प्रहरीको संख्या पनि निकै बढाइएको थियो ।
पदमुक्त प्रधानन्यायाधीश अदालत आउने हल्ला चलिरहेपनि सर्वोच्च प्रशासनले भने अदालतको आधिकारिक वेबसाइटमा जोशीलाई कामु प्रधानन्यायाधीशकारुपमा राखिसकेको थियो । र, असन्तुष्ट भएर बिदामा बसेका न्यायाधीशहरु पनि उपस्थित भइसकेका थिए ।
त्यही बीचमा वरिष्ठतम् न्यायाधीश जोशी बिहान साढे १० बजे अदालतमा प्रवेश गरेका थिए ।
अदालतमा हाजिर भएलगत्तै उनले न्यायाधीशहरुलाई इजलास तोक्नुका साथै सबै न्यायाधीशको बैठक गरेका थिए । बैठकपछि १० ओटै इजलास सन्चालनमा आएका थिए ।
उनले त्यसक्रममा कामु प्रधानन्यायाधीशको हैसियतमा संक्षिप्त प्रतिक्रिया दिँदै न्यायालयलाई व्यवस्थित एवं जनतामा अदालतप्रति विश्वास कायम राखीराख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यता, पदमुक्त गरिएका प्रधानन्यायाधीश पराजुलीले पनि अनेक आशंकाका बाबजुद् अदालत नगइ सीधै राष्ट्रपति भवन पुगेर राष्ट्रपतिसमक्ष पदबाट राजीनामा दिइ मार्गप्रशस्त गरिदिए । यसले गर्दा बिहीबार सर्वोच्च अदालत थप असामान्य बन्न पाएन ।
यद्यपि, यसबीचमा न्यायालयमा जे–जस्ता परिस्थिति आए त्यसको असर भने दूरगामी रहने कानुनी क्षेत्रका ज्ञाताहरुको विश्लेषण छ ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनाली न्यायालयमा देखिएका पछिल्ला गतिविधिले न्यायालयमा दूरगामी असर पार्नेतर्फ सचेत बन्दै समस्या समाधान गर्न सबै लाग्नुपर्ने बताउँछन् ।
बारका अर्का पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले न्यायालयमा राजनीति घुसाउने प्रयास गरिएको भन्दै यो घटना दुर्भाग्यपूर्ण रहेको बताए ।
बारकै पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले घटना दुर्भाग्यपूर्ण भएपनि तत्काललाई यसको समाधान भएकाले भावी दिनमा यस्तो परिस्थिति आउन नदिन बेलैमा सचेत हुनपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्