काठमाडौं, मंसिर ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत नतिजा कायमै रहेको छ ।
लयमा रहेको मनाङले आफ्नो चौथो खेलमा मंगलबार सशस्त्र प्रहरीको टिमलाई २–१ ले हरायो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १९औं मिनेटमा एड्लाजा सोमाइदेको गोलबाट मनाङले प्रारम्भिक अग्रता लिएको थियो ।
२७औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दैै सशस्त्रका नवीन लामाले खेललाई बराबरीमा ल्याए ।
४४औं मिनेटमा अन्जन विष्टले पेनाल्टीबाटै गोल गर्दै मनाङलाई पुनः अग्रता दिलाए ।
मध्यान्तरपछि थप गोल हुन नसक्दा मनाङले जितसहित महत्वपूर्ण ३ अंक बटुल्यो ।
यो जितसँगै मनाङ ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ । १० अंकको त्रिभुवन आर्मी क्लब दोस्रो तथा समान ९ अंकका थ्रीस्टार र संकटा क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
समान ७ अंकबाट हिमालयन शेर्पा पाँचौं तथा नेपाल पुलिस क्लब छैटौं स्थानमा छन् ।
सरस्वती सातौं स्थानमा
मंगलबारै भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–१ ले पराजित गरेको सरस्वती युथ क्लब ६ अंकसहित सातौं स्थानमा पुगेको छ ।
एन्फा कम्प्लेक्समै भएको खेलमा सरस्वतीलाई जिताउन विनोद केसी र फ्रान्सिस ओन्यमले एक/एक गोल गरे । ब्रिगेड ब्वाइजका कजिम बुसारीले एक गोल फर्काए ।
लिगमा च्यासल युथ क्लब र सशस्त्र प्रहरी समान ४ अंकबाट आठौं र नवौं स्थानमा छन् ।
३ अंकको ब्रिगेड ब्वाइज दशौं स्थानमा हुँदा २ अंकको मच्छिन्द्र क्लब एघारौं तथा १ अंकको न्यूरोट टिम (एनआरटी) बाह्रौं स्थानमा रहेका छन् । अंकविहीन जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब पुछारमा छन् ।








प्रतिक्रिया दिनुहोस्