
मंगलबार मध्याह्न साढे ११ बजे मेयर मानबहादुर जिसीले नगरसभा सन्चालन गरेलगत्तै कांग्रेसबाट निर्वाचित वडा नम्बर–९ का वडाध्यक्ष रामराजा लामिछानेले अनियमिता छानबिन नभएसम्म सभा अगाडि बढ्न नदिने जानकारी गराएका थिए ।
त्यसक्रममा कांग्रेसबाट निर्वाचित प्रतिनिधिले सभाहलभित्रै नाराबाजीसमेत गरेका थिए ।
सहमतिका लागि भन्दै मेयर जिसीले कांग्रेस र नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने दुई/दुईजना जनप्रतिनिधि राखेर छलफल गरेपनि सहमति जुट्न सकेन ।
केही दिनअघि महानगरले इन्जिनियर, सब–इन्जिनियर र अनमि पदका लागि विज्ञापन आह्वान गरी दरखास्त मागेको थियो ।
परीक्षामा सेटिङ मिलाएर एमालेले आफ्ना कार्यकर्तालाई नियुक्त गरेको भन्दै कांग्रेस समर्थित जनप्रतिनिधि आक्रोशित बनेका हुन् ।
उनीहरुले कर्मचारी पदपूर्ति प्रक्रिया खारेज नभएसम्म सभा अघि बढ्न नदिने चेतावनी दिएका छन् ।
नगरसभामा १६७ जना जनप्रतिनिधिमध्ये कांग्रेसबाट ४७ जना प्रतिनिधि छन् ।
पोखरा सभागृहमा गत सातादेखि सुरु भएको महानगरको सभाले पारित गर्ने विधेयकबारे नगरसभाका सदस्यले आवश्यक अध्ययन गर्ने भन्दै समय माग गरेकामा केही दिन स्थगितपछि मंगलबारदेखि पुनः सुचारु हुने कार्यक्रम थियो ।
मंगलबारको कार्यसूचीमा महानगरको कृषि ऐन २०७४, कृषि बजार प्रवद्र्धन ऐन, कृषि नीति, पशु नीति, उपप्रमुखसँग महिला कार्यक्रम निर्देशिका र सहकारी ऐनबारे छलफल गरिने रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्