काठमाडौं, मंसिर १० । संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको चौथो चरणको पहिलो खेलमा आर्मीले संकटालाई ५–१ ले हरायो ।
खेलमा आर्मीलाई विजयी गराउन टेकबहादुर बुढाथोकीले दुई गोल गरे भने भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जनले एक/एक गोल गरे ।
पराजित टोली संकटाका विदेशी खेलाडी म्याक्सवेल एलोनले एक गोल फर्काए ।
जितसँगै आर्मी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जारी लिगमा अपराजित रहेको आर्मीले ४ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट ९ अंक जोडेको संकटा क्लब तेस्रो स्थानमा झरेको छ ।
एक खेल कम खेलेको मनाङ–मर्स्याङ्दी क्लब ९ अंकसहित दोस्रो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्