Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


६ अर्ब रुपैयाँ लागतमा निर्माणाधीन न्यादी जलविद्युतको ५० प्रतिशत काम सकियो


0
Shares

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ ।

आयोजनाको ३ दशमलब ८४ किलोमिटर लामो सुरुङ खन्ने काम पुरा भएको हो ।

न्यादी हाइड्रोपावर कम्पनीका प्रोजेट म्यानेजर उत्तम अमात्यले मुख्य सुरुङ छेडिएसँगै आयोजनाको ५० प्रतिशत काम सकिएको बताए ।

आयोजनामा सुरुङसहित ७ सय २५ मिटर पेनस्टक पाइप राखिने छ ।

अडिट टनेलहरु खन्ने कार्य अन्तिम चरणमा पुगेको र बाँध क्षेत्रको सिभिल संरचना निर्माणको २० प्रतिशत काम सकिएको जनाइएको छ ।

आगामी वर्षा सुरु हुनुअघि बाँध क्षेत्रको संरचना र विद्युतगृहको काम सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । अब १७ महिनामा विद्युत उत्पादन गर्ने तालिका रहेको छ ।

३० मेगावाटको आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।

आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाईनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ ।

निर्माणधीन प्रसारण लाइन विद्युत उत्पादन सुरु हुने अवधिभित्र तयार नभए आयोजनाबाट उत्पादित विद्युत टारिकुना सबस्टेसनमा जोड्ने कम्पनीको योजना छ

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लि.ले गरेको छ ।

नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दर अनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भइ आठ वर्षसम्म र सम्झौताको अवधी ३० वर्षसम्म कायम रहने बताइएको छ ।