२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सवारी चालक र सहचालकले अनिवार्य पोसाक लगाउनुपर्ने, नियम पालना नगरे ‘कारबाही’


0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिनअगाडि बसेको बैठकको निर्णयानुसार शुक्रबारदेखि सबै मार्गका सवारी चालक र सहचालकले पोसाक लगाउनुपर्ने हुन्छ ।

महाशाखा र महासंघको आयोजनामा शुक्रबार आरएनएसीबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चल्ने बस तथा माइक्रोबसका चालक र सहचालकलाई पोसाक लगाएर सुरुआत गरिएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चालक र सहचालकलाई पोसाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासितरूपमा गाडी चलाउने अभियानको विकास हुने बताए ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले उपत्यकामा चल्ने सबै समितिका बस तथा माइक्रोबसलाई चालक र सहचालकलाई अनिवार्यरुपमा पोसाक लगाउन पत्राचार गरिसकिएको बताए । ‘नियम पालना नगर्ने चालक र सहचालकलाई समितिबाटै कारबाही हुन्छ’–उनले भने ।

काठमाडौं उपत्यकाबाट सुरु भएको पोसाक अभियान देशव्यापीरुपमा लैजाने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

समितिअनुसार भिन्दाभिन्दै ज्याकेट भएकाले यात्रीलाईसमेत यात्रामा सहजता हुनेछ । चालकलाई रातो र सहचालकलाई हरियो खालको पातलो ज्याकेटको व्यवस्था गरिएको छ ।

यही चैत २ गते ललितपुर यातायात व्यवसायी संघबाट सुरु भएको उक्त अभियानअन्तर्गत् शुक्रबार १२ मार्गका चालक र सहचालकलाई पोसाक लगाइएको थियो । रासस