
विगत लामो समयदेखि निरन्तररुपमा घटिरहेको पुँजीबजार र त्यसले आमलगानीकर्ताहरुमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असरप्रति नेपाल इन्भेस्टर्स फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
फोरमले सोमबार राजधानीमा पत्रकार सम्मेलन नै गरी नेपालको पुँजीबजारको इतिहासमा सबैभन्दा बढी पुँजीकृत रकम ८ खर्ब ३६ अर्ब रुपैयाँ गुमाउँदा पनि सरकार र अरु निकायहरु मौन रहनुले १५ लाखभन्दा बढी लगानीकर्ताहरु मर्माहत भएको जनाएको हो ।
उसले पुँजीबजार सुधारका लागि १९ बुँदे मागहरु राख्दै ७ दिनभित्र पूरा नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जिम्मेवार अधिकारीले बोल्दा संयमित भएर बोल्नुपर्ने बताए ।
सम्झौता गरिएको अवधिभित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागू गर्नुपर्ने, ब्रोकरको संख्या तथा क्षेत्राधिकार विस्तार गरी वाणिज्य बैंकहरुलाईसमेत ब्रोकर लाइसेन्स दिइ कारोबार गर्ने सुविधा विस्तार गर्नुपर्ने माग फोरमको छ ।
यस्तै, सेयर कर्जामा लगाइएको पुँजीगत जोखिमको भार १०० प्रतिशतमा झार्नुपर्ने, सेयर धितो कर्जाको सीमा बजार मूल्यको ७० प्रतिशत पुर्याउनुपर्ने, ब्रोकरमार्फत् सेयरधितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेलगायतका माग फोरमको छ ।
आपूर्तिकै कारणलेमात्र बजार घटेको नभइ जिम्मेवार निकायहरुको पुँजीबजारप्रतिको दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्तामैत्री ऐन–कानुनहरु नहुनु प्रमुखरुपमा जिम्मेवार भएको फोरमको ठम्याइ छ ।
यता, लगानीकर्ता नन्दकिशोर शर्मा ‘बजार बढ्दा सचेत गराउने नियामक निकाय यतिखेर किन सम्बोधन गर्दैनन् ?’ भनी प्रश्न गर्छन् ।
नयाँ सरकार बनेपछिमात्र ३०० अंक बजार घट्नु सामान्य कुरा नभएको लगानीकर्ताको दुखेसो छ ।
सरकार र नियमनकारी निकायले उचित सम्बोधन गरेमात्र पनि बजारमा सुधार आउने उनीहरुको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्