काठमाडौं, मंसिर ८ । पछिल्ला दिनमा ऊर्जा नदीकारूपमा परिणत भइरहेको खिम्ती खोलामा हाल तीन जलविद्युत् आयोजना निर्माणकाक्रममा रहेका छन् ।
हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ ।
यस्तै, पिपल्स इनर्जीले ४८.८ मेगावाट क्षमताको खिम्ती दोस्रो आयोजना निर्माण गरिरहेको छ ।
हिमालयन ऊर्जा विकास कम्पनीले ती आयोजना आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
सुरुमा आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि निर्माण प्रक्रिया जारी रहेको र प्रसारणलाइनसमेत निर्माणकाक्रममा रहेकाले असार पुग्नसक्ने बताइएको छ ।
रामेछापमा निर्माणाधीन माथिल्लो खिम्ती एक र माथिल्लो खिम्ती दुई आयोजनाको भौतिक निर्माण ८० प्रतिशतभन्दामाथि रहेको छ ।
कम्पनीका सन्चालक प्रकाश दुलालकाअनुसार माथिल्लो खिम्ती एक १२ मेगावाट क्षमताको हो भने माथिल्लो खिम्ती दुई ७ मेगावाटको हो । उक्त दुई आयोजनाको विद्युत् २०७६ असारबाट प्रणालीमा जोडिन लागेको हो ।
बाँध क्षेत्रको संरचना निर्माणको काम अन्तिम चरणमा छ ।
बाँधबाट विद्युत्गृहसम्म ल्याइने तीन हजार ८०० मिटर लामो पाइप बिच्छ्याउने कामसमेत ८५ प्रतिशत सम्पन्न भएको छ । पाइप बिच्छ्याउन ५०० मिटरमात्रै बाँकी छ ।
आयोजनाको विद्युत्गृहको काम पनि अघि बढेको छ । त्यसमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण ठेकेदार कम्पनीले आयोजनास्थलमा ल्याउन सुरु गरेको छ ।
एकसाथ निर्माण भइरहेका दुई आयोजना सम्पन्न हुँदा रु तीन अर्ब १५ करोड खर्च हुने आयोजना निर्देशक रमाकान्त गौरोले जानकारी दिए ।
ती आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युुत् नेपाल विद्युत् प्राधिकरणको गर्जाङ सबस्टेसनमा लगेर जोडिनेछ । उक्त सबस्टेसनको कामसमेत अगाडि बढाइएको छ । चिनियाँ कम्पनी पिंगाओ एण्ड जेभीले सो सवस्टशेन र प्रसारणलाइनको काम गरिरहेको छ ।
पिपल्स इनर्जी लिमिटेडले रु ९ अर्ब लगानीमा दोलखा र रामेछापको सिमानामा खिम्ती दोस्रो ४८.८ मेगावाट क्षमताको आयोजना निर्माण सुरु गरेको छ । सो आयोजानको पहुँचमार्ग निर्माण तथा आवासगृहको काम सुरु भएको छ ।
यस्तै, हिमाल पावरले कुल ६० मेगावाट क्षमताको खिम्ती आयोजना सन्चालन गरिरहेको छ ।
यस्तै, अन्य दुई आयोजनासमेत निर्माणमा जाने तयारीमा छन् । निलगंगा जलविद्युत् कम्पनीले कुल ९ मेगावाट क्षमताको खिम्ती घ्वाङ जलविद्युत् आयोजना अगाडि बढाएको छ ।
यस्तै, करिब ६०० मेगावाट क्षमताको खिम्ती ठोस्ने जलाशयुक्त आयोजनासमेत अगाडि बढाउन लागिएको छ । विद्युत् विकास विभागले सो आयोजना अध्ययन गरिरहेको छ । आयोजनाको अध्ययनका लागि प्रदेश नम्बर–३ सरकारले पनि चासो व्यक्त गरेको छ । रासस









प्रतिक्रिया दिनुहोस्