२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


समुदायलाई बन हस्तान्तरण गरेपछि फेरियो काँचुली


0
Shares

डीबी विष्ट/ ईमेज:
बझाङ, चैत १८ । केही वर्षअघिसम्म उराठलाग्दा देखिने बझाङको दुर्गाथली गाउँपालिकाका डाँडा अहिले हरियो बनले ढाकिएका छन् ।

सामुदायिक बन हुँदा दुर्गाथलीका सबै बन क्षेत्र नांगा डाँडामा परिणत भएका थिए ।

तर, जिल्ला बन कार्यालयले समुदायलाई हस्तान्तरण गरी कबुलीयती वन बनाई दिएपछि अहिले यहाँका नांगा डाँडा हरियाली क्षेत्रमा परिणत भएका छन् ।

२०५८ सालतिर बझाङको दुर्गाथली गाँउपालिका–५ का गाउँ नजिकैका सबै सामुदायिक बनहरु भनिएका क्षेत्र नाङ्गा भएका थिए । तर अहिले सबै नांगा डाँडामा हरियाली छाएको छ ।

वनजंगल बारे जिल्ला बन कार्यालयले जनचेतना फैलाएपछि यहाँका स्थानीयले बनजंगल संरक्षण र नांगा डाँडामा समेत वृक्षरोपण गर्न थालेका हुन् ।

वन कार्यालयले यहाँका महिलालाई सचेत गराउँदै गाउँगाउँमा समूह बनाई दिएपछि गाउँ नजिकैका नांगा डाँडालाई हरियाली बनाएर स्थानीयले आम्दानीसमेत गर्न थालेका हुन् ।

दुर्गाथली गाउँपालिकामा रहेको भिमाखोच कबुलियती बन, छडागैरापातल कबुलीयती बन, भक्कड कबुलीयती बन, धल्देउपाटन कबुलीयती बन र पानीमुल ठूला खोला कबुलीयती वनमा यहाँका स्थानीयले बृक्षरोपण गरी हरियाली बनाएका हुन् ।

यहाँका वनमा विभिन्न जडीबुटी तथा फलफूलसमेत रोपिएको छ । कबुलियती वनको विकास भएसँगै स्थानीयलाई घाँस दाउरा पाउन पनि सहज बनेको छ ।

वनजंगलमा जथाभावी पशु चौपाया छाड्न रोक लगाइएको छ । स्थानीयले बनाएको नियम उल्लंघन गर्नेलाई कारबाहीको समेत व्यवस्था गरिएको छ ।

वनजंगलभित्र रोपिएका जडिबुटी बिक्री गरेर आम्दानी गर्न थालिएको छ । जंगल संरक्षण हुँदै जाँदा पहिरोको जोखिमसमेत कम भएको छ ।

जिल्ला वन कार्यालयका रेन्जन सुरेन्द्र कठायतले कबुलियती वन बनाएर प्राविधिक सहयोग उपलब्ध गराएपछि यहाँको जनजीवन नै परिवर्तन भएको बताए ।

बझाङमा हाल ११९ वटा कबुलीयती र ३८३ वटा सामुदायीक वन छन् ।

यहाँका स्थानीय जस्तै अन्य जिल्लाका बासिन्दा पनि वनजंगल संरक्षणमा लागे जलवायु परिवर्तनले पार्ने असरलाई समेत कमी ल्याउन सकिने सरोकारवपालाहरु बताउँछन् ।