Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सशस्त्रलाई संकट ! बीबीसीसित पराजित, विश्वासले खाए रातोकार्ड


0
Shares

काठमाडौं, मंसिर ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेलमैदानमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपीएफलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

यस जितसँगै ब्रिगेड ब्वाइजले अंकतालिकामा ३ अंक बटुलेको छ । 

ब्रिगेड ब्वाइजको जितमा मनोज राई, काजुदीन आदुनी र काजीम आदीबोकेले गोल गरे ।

खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा टुंगिएको खेलमा पहिलो अग्रता भने एपीएफले लिएको थियो ।

खेलको दोस्रो हाफको ६०औं मिनेटमा एपीएफले रूपबहादुर लामाको गोलमार्फत् अग्रता लिएको थियो ।

लामाले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै ब्रिगेड ब्वाइजका मनोजले एक गोल फर्काएर खेललाई बराबरीको स्थितिमा ल्याए । उनले करिब २० यार्डबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । 

त्यस्तै, खेलको ६९औं मिनेटमा ब्रिगेड ब्वाइजका अर्का खेलाडी काजुदीनले एक गोल थप्दै आफ्नो टोलीलाई पुनः अघि लगाए । उनले ६ यार्डबाट गोल गरेका थिए ।

त्यस्तै, खेलको ७५औं मिनेटमा ब्रिगेड ब्वाइजकै काजिमले गोल गरेर जित सुनिश्चित गरे ।

खेलको ८९औं मिनेटमा एपीएफ १० खेलाडीमा सीमित बनेको थियो । एपीएफका खेलाडी विश्वास उदासले ‘फल्ट’ गरेपछि रेफ्रीले उनलाई सीधै रातोकार्ड दिएका थिए ।

पराजित एपीएफको अंकतालिकामा ४ अंक छ । रासस