
मलेसियन कम्पनी वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच काठमाडौंमा मोनोरेल चलाउन सम्भाव्यता अध्ययन गर्नेबारे छलफल भएको हो ।
पहिलो पटक प्रधानमन्त्री हुँदा नै एमाले अध्यक्ष केपी ओलीले सबै नेपालीको कानमा नेपालमा रेल चलाउने विषय भरिदिएका थिए । उनले गर्ने हरेकजसो भाषणमा रेलदेखि मानोरेलसम्मको चर्चा सँधै हुने गरेको थियो ।
एकोहोरो ट्रयक भएको भुईंभन्दा माथि लिक बनाएर हिड्ने यातायात नै मनोरेल हो । जसको काठमाडौंमा सम्भाव्यताबारे छलफल थालिएको हो । काठमाडौंको बाक्लो बस्ती र पेट्रोल, डिजेलको अभाव व्यहोर्ने नेपालमा विद्युतीय मोनोरेल चलाउन सके जनजीवन निकै सहज हुने बुझाई सबैको छ ।
काठमाडौं उपत्यकाको सवारी चाप कम गर्न सञ्चालन गर्ने भनिएको मोनोरेल निकै उपयोगी हुने काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी बताउँछिन् ।
कामको जिम्मा पाएको वाइबिडी साइमेक्स कम्पनीले भने केही समयमै काठमाडौंमा मोनोरेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ । राजधानीको चक्रपथमा साढे २८ किमि लामो डबल ट्रयाकको मोनोरेल निर्माण गर्ने योजना छ । जसको लागत ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
प्रारम्भिक अध्ययनअनुसार आठ सय मिटरदेखि साढे एक किलोमिटरको अन्तरमा १७ वटा स्टेसन राखिने छ । प्रतिकिलोमिटर निर्माण लागत २ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म लाग्ने देखिएको छ । जमिनबाट १४ फिट उचाइमा गुड्ने मोनोरेलले दैनिक १ लाख ५० हजार यात्रु बोक्ने क्षमता राख्दछ ।
१२ देखि १५ वर्षमा लगानी उठाउने लक्ष्य लिएको कम्पनीले ३० वर्षपछि परियोजना सरकारलाई हस्तान्तरण गर्नेछ । जमिनभन्दा माथि गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनै असर गर्र्दैन । रुट भने तिलगंगाबाट शुरु भएर एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, बबरमहल, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुने मानिएको छ ।
पर्यटकीय क्षेत्रका पोखरा र लुम्बिनीमा पनि यसखाले मोनोरेलको सम्भाबना रहेको खड्गी बताउँछिन् । यसका लागि पोखरा महानगरपालिकासँग पनि सल्लाह गरिने उनको भनाइ छ ।
विकास र समृद्धी नेपालीको साझा सपना हो । यही सपनामा व्यापार गरेर थुप्रै नेता, दल र व्यवस्थाले आफ्नो दुनो सोझ्याएका छन् । तर जनताको सपना आजसम्म पनि उचित ढंगले साकार हुन सकेको छैन ।
अब काठमाडौंवासीमा छरिएको मनोरेलको यो सपना पूरा होला वा फगत मनोरोगमा मात्र परिणत होला ! त्योचाहिं हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्