
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले श्वेतपत्रमार्फत् अर्थतन्त्रको यथार्थ तस्वीर ल्याएको दाबी गरे ।
उनले अर्थतन्त्रको संरचनागत समस्या रहेपनि अर्थतन्त्र नै ध्वस्त भएको नभनिएको प्रस्ट पारे ।
अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालगायतका विषयमा सरकारले संसदलाई जानकारी गराएरमात्रै बाहिर ल्याउने उल्लेख गरे ।
यसअघि, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले श्वेतपत्रका नाममा सरकार अरुको टाउकोमा दोष थोपर्न उद्दत भएको भन्दै आपत्ति जनाएको थियो ।
मंगलबारै प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले श्वेतपत्र ल्याउनु सकारात्मक भएपनि आफूअनुकूल तथ्यांक राखेर दोष कसको टाउकोमा हाल्ने भन्नेमा अर्थमन्त्री केन्द्रित भएको आरोप लगाएका थिए ।
उनले श्वेतपत्रमा त्रासदीपूर्ण चित्रण गर्न खोजिएको भन्दै त्यो उचित नभएको र प्रशस्त अवसर रहेकाले त्यसलाई सदुपयोग गर्न सुझाव दिए ।
सरकारी ढुकुटी रित्तो भयो भन्नु अतिरञ्जनाबाहेक केही नभएको रिजालले जिकिर गरे ।
अर्कालाई दोष लगाएर मैलेमात्र गर्नसक्छु भन्ने घमन्ड नेपाली राजनीतिमा भइरहेको र त्यही लाइनमा अर्थमन्त्री खतिवडा पनि थपिएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्