२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रतिनिधिसभाको पहिलो अधिवेशनः ९ दिनमा ११ पटक बैठक, १५ घन्टा काम (भिडियो)


0
Shares

गत फागुन २१ गते प्रारम्भ भएको अधिवेशन मंगलबारसम्म जम्मा ३० दिन चालू रह्यो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट चालू अधिवेशन अन्त्य गरिएकोसम्बन्धी पत्र पढेर सुनाए ।

यस अवधिमा प्रतिनिधिसभाको बैठक ९ दिनमा ११ पटक बैठक बसी जम्मा १५ घन्टा ३० मिनेट संसदीय काम–कारबाही गर्‍यो ।

राष्ट्रियसभाको बैठक १० पटक बैठक बस्यो । चालू अधिवेशनमा संघीय संसदको संयुक्त सदनको एउटा बैठक बसी २० मिनेट समय व्यतित भयो ।

पहिलो अधिवेशनमा प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पारित गर्‍यो ।

यस्तै, १३ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गर्‍यो ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनले सभामुख, उपसभामुख चयन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिए ।

संघीय संसदको पहिलो अधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिन् ।

यसै अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक र अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक महत्वको विषयमा सम्बोधन गरे ।

यस्तै, पहिलो अधिवेशनमा राष्ट्रियसभाले सभाको अध्यक्ष, उपाध्यक्ष चयन गर्नुका साथै केही विधेयक पारित गर्‍यो ।

संसदको पहिलो अधिवेशनमा अघिल्लो संसदको प्रक्रियामा रहेका विधेयक पुनः प्रक्रियाबाट दर्ता भएनन् ।

संसदमा कुनै विधेयक दर्ता नभएको र बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले संसदको पहिलो अधिवेशन अन्त्य गरिएको हो ।

जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ । त्यसको कम्तीमा १५ दिनअघि नै बजेट अधिवेशन सुरु गर्नुपर्ने व्यवस्था छ ।

सरकारको सिफारिसमा राट्रपतिले बजेट अधिवेशन आह्वान गर्नेछिन् ।

भिडियो हेर्नुहोस्