२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


विद्युतीकरण र सडक फराकिलो पारेर व्यवस्थित बन्दै छथर गाउँपालिका


0
Shares

गाउँपालिकाले मिचेर बनाइएका घर टहरा भत्काउन निर्देशन दिएपछि शुक्रबारे बजारका बासिन्दाले मिचेर बनाएका घर टहरा आफैंले भत्काउन थालेका हुन् ।

बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घर टहरा भत्काउन निर्देशन जारी गरेको थियो । गाउँपालिकाले बजार क्षेत्रका मुख्य सडकलाई १० मिटर र अन्य शाखा सडकहरु ७ मिटर बनाउने भन्दै त्यसका लागि सहयोग गर्न सूचित गरेको थियो ।

सडक फराकिलो बनाउन बजारबासीले गाउँपालिकाको निर्णयको समर्थन गरेका छन् ।

यसैबीच छथर गाउँपालिकाका सबै बस्तीमा विद्युत विस्तारका लागि गाउँपालिकाले ‘उज्यालो छथर अभियान’ सुरु गरेको छ । विपन्न र पछाडि पारिएकाहरुको बसोबास रहेका बस्तीहरुमा अहिले पनि विद्युत विस्तार हुन नसकेको अवस्थामा गाउँपालिकाले सबै घरधुरीमा विद्युतीकरण गर्ने योजना अघि सारेको हो ।

गाउँपालिकाले सुरु गरेको सो अभियानको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरे ।

अभियानअन्तर्गत पहिलो चरणमा मंगलबारसम्म ३९ परिवारलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

छथर गाउँपालिकाका सबै वडामा केन्द्रीय प्रशारण लाइनको विद्युतीकरण भएको छ, तर सबै घरधुरीमा जडान हुन सकेको छैन । आर्थिक रुपमा विपन्नहरुको बस्तीसम्म विद्युतको पहुँच पुग्न नसकेको भन्दै गाउँपालिकाले विपन्न समुदायलाई लक्षित गरी उज्यालो छथर अभियान थालेको अध्यक्ष सन्तविर लिम्बुले बताए ।

अभियानअन्तर्गत केन्द्रीय प्रशारण लाइनको विद्युतको पहुँच नहुने बस्तीमा सोलार बत्ती जडान गरिने र केन्द्रीय प्रशारण लाइनको विस्तारका लागि तार, मिटर बक्स लगायत सामाग्रीहरु निःशुल्क वितरण गरिने अध्यक्ष लिम्बुले बताए ।

गाउँपालिकाको प्रारम्भिक तथ्यांकअनुसार अहिले १ सय ८७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । उनीहरुलाई चालु आर्थिक वर्षभित्रै विद्युत सेवाको पुहँचमा पु¥याइ गाउँपालिकालाई अध्याँरोमुक्त बनाउने अध्यक्ष लिम्बुले बताए ।