
पछिल्लो समय नवजात शिशुमा पनि श्रवणशक्ति ह्रास हुने समस्या देखापर्न थालेको छ ।
नेपाल वाक तथा श्रवण संघले आयोजना गरेको सम्मेलनमा नेपाल, भारत र न्यूजिल्यान्डका नाक, कान, घाँटी रोग विशेषज्ञहरुको सहभागिता रहेको छ ।
जन्मजात र पछि कुनै रोगका कारण नेपालमा थुप्रैले श्रवणशक्ति गुमाउनुपरेको भन्दै त्यसबारे जानकारी दिन सम्मेलन आयोजना गरेको संघले जनाएको छ ।
सम्मेलनमा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सुन्न र बोल्न पाउनु सबैको मैलिक हक भएकाले अब स्थानीय सरकारले यसको जिम्मेवारी लिनुपर्ने बताए ।
सम्मेलनमा भारतका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. एम जयरामले नवजात शिशुमा श्रवणशक्ति गुम्ने समस्या निकै बढेकाले समयमा नै बालबालिकाको श्रवणशक्तिको परीक्षण गर्नुपर्ने बताए ।
गर्भवती महिलाले जथाभावीरुपमा औषधि सेवन गर्दासमेत शिशुको श्रवणशक्ति गुम्ने सम्भावना उच्च हुन्छ ।
यस्तै, टाइफाइड, जन्डिस, दादुरा, हाडेरोग र कुनै संक्रमणका कारणपनि श्रवणशक्ति गुम्ने गर्छ ।
श्रवणशक्ति गुमेकाहरुको समयमा नै पहिचान गरी ‘कक्लियर इमप्लान्ट’ राख्ने हो भने जीवनभरि नै सुन्न सक्छन् । यो विद्युतीय उपकरण राख्न १० लाख रुपैयाँ खर्च हुन्छ ।
नेपाल सरकारले हाल कक्लियर इमप्लान्ट राख्नेलाई ५ लाख अनुदान दिँदै आएको छ । यो उपकारण राख्ने सुविधा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको छ । हालसम्म यो अस्पतालबाट १६ जनाले यो सुविधा लिएका छन् ।
देशैभरबाट १०६ जनाले कक्लियर इमप्लान्ट राखेको पाइएको छ । जसमध्ये जन्मजात श्रवण समस्या भएका १०१ जना रहेका छन् ।
यस्तो समस्या भएपनि अस्पताल गएर उपचार गराउन नसकेका वा अस्पताल नै नपुगेकाहरुको संख्या निकै ठूलो रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्