१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


राजपा संसदीय दलको नेता को ?


0
Shares

संसदमा रहेका पाँच राष्ट्रिय पार्टीमध्ये चार राष्ट्रिय पार्टीले संसदीय दलको नेता चुनिसकेका छन् । तर, पार्टीभित्रको आन्तरिक विवादका कारण संसदको चौथो ठूलो दल राजपा नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

राजपा नेपालभित्र अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर र अर्का सदस्य राजेन्द्र महतोबीच संसदीय दलको नेता बन्न प्रतिस्पर्धा छ ।

अर्का सदस्य महेन्द्र राय यादव पनि संसदीय दलको नेता बन्न आकांक्षी छन् । तर, अन्तिम अवस्थामा यादव पछाडि हट्नसक्ने राजपाका कतिपय नेताहरुको विश्वास छ ।

तीनजनामध्ये कसलाई दलको नेता बनाउने भन्ने विवाद मिल्न नसकेपछि राजपा संसदको पहिलो अधिवेशन अन्त्य हुँदा नेताविहीन छ ।

सर्वसम्मतरुपले दलको नेता छान्न पटक–पटक औपचारिक तथा अनौपचारिक बैठक बसेपनि छलफल सार्थक हुन सकेन । अझै दलको नेता चयनमा विलम्ब हुने देखिएको छ ।

संसदको पहिलो अधिवेशन सकिएपछि संसदीय दलको विधान निर्माणका लागि एक समिति गठन गरिएको छ ।

राजपा अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले संसदीय दलको विधान निर्माणपछिमात्रै दलको नेता चयन हुने जानकारी दिए ।

संसदीय दलको नेता बन्न संयोजक ठाकुर र सदस्य महतोले पार्टीभित्र तीव्र ‘लबिङ’ गरिरहेका छन् ।

राजपाभित्र व्यक्तित्व र वरिष्ठताका आधारमा पनि महन्थ ठाकुर नै दलको नेता हुनुपर्ने आवाज पनि बलियो छ । ठाकुरनिकट नेताहरु विभिन्न ६ पार्टी मिलेर बनेको राजपा नेपालको अध्यक्षमन्डलका संयोजक ठाकुर भएकाले उनलाई नै दलको नेता चयन गरी पार्टीलाई बलियो बनाउनुपर्ने तर्क गरिरहेका छन् ।

तर, महतोनिकटका नेताहरु भने पार्टीलाई तीव्ररूपमा अगाडि बढाउन संसदीय दलको नेता महतो हुनुपर्ने तर्क गर्छन् ।

पार्टीलाई बलियो बनाउँदै संसदमा खरोरूपमा उत्रन महतो दलको नेता नभइ नहुने अवस्था रहेको महतो पक्षका नेताहरुको जिकिर छ । संसदीय दलमा दलका आकांक्षी राजेन्द्र महतो बलियो छन् ।

प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा राजपा नेपालका दुई सांसद छन् । राजपा नेपालबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचन जितेका ११ सांसदमध्ये ५ सांसद पुरानो सद्भावना पार्टीका रहेका महतोनिकट नेताहरुको दाबी छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ राजपा नेपालले पाएका ६ सांसदमा दुई ठाकुर र दुईजना महतोको पक्षका सांसद छन् ।

मधेसकेन्द्रित विभिन्न ६ दल मिलेर गत ७ वैशाखमा राजपा नेपालको घोषणा गरिएको थियो । स्थापनादेखि नै विभिन्न मुद्दा र समयमा राजपाभित्र विवाद हुँदै आएको छ ।

भिडियो हेर्नुहोस्