
पक्कै पनि रञ्जना लिपि नेपालको मौलिक राष्ट्रिय लिपि हो भन्ने विषय धेरैलाई थाहा छैन । लिपि प्रयोग गर्ने त अझ परको कुरा भयो ।
त्यही भएरपनि नेपाल लिपि गुठीले विभिन्न प्रदेशमा लिपि प्रशिक्षण कार्यक्रम अभियानकारुपमा थालेको छ । नेपालमा १२३ फरक भाषाहरु बोलिन्छ र अधिकांश भाषाको आफ्नै मौलिक लिपि छ ।
व्यवहारमा देवनागरी लिपिलाई वैकल्पिक प्रयोग गरेको भएरपनि नेपालको मौलिक लिपि संकटमा परेको हो । रञ्जना लिपि नेपालको राष्ट्रिय लिपिकारुपमा संयुक्त राष्ट्रसंघमा दर्ता गरिएको छ ।
तत्कालीन श्री ५ महेन्द्र शाहले नेपाल देशलाई संयुक्त राष्ट्रसंघमा दर्ता गराउनेबखत् राष्ट्रियगान, पोसाक, भाषा, सम्बतसँगै रञ्जना लिपिलाई राष्ट्रिय मानांककारुपमा दर्ता गरेका हुन् ।
रञ्जना लिपिलाई ११औं शताब्दीदेखि प्रचलनमा ल्याएको देखिन्छ । यो ब्राम्ही लिपिको विकसित रुप हो ।
तत्कालीन अवस्थामा नेपालभाषाको लिपि भएपनि भारत, तिब्बत, चीन, मंगोलिया तथा जापानमा यो लिपिको प्रयोग भएको देखिन्छ । अहिलेपनि बुद्ध धर्म सम्बन्धित तन्त्र–साधनादेखि मठ, गुम्बा र भित्तेलेखनमा रञ्जना लिपिको प्रयोग छ ।
देब्रेबाट दाहिने लेखिने यो लिपिलाई कुताक्षरकारुपमा माथिदेखि तलसम्म पनि लेख्न सकिन्छ । यसलाई गोप्य अक्षरकारुपमा तन्त्र–साधनामा पनि प्रयोग गरिन्छ ।
नेपाल सरकारले वि.सं. २०७३ भदौ २३ गते बिहीबार गठन गरेको भाषा आयोगलाई मातृभाषा तथा लिपिसम्बन्धीको विकास मापन गरी सुझाव दिन भनेको छ ।
नेपालको संविधान २०७२ को धारा २८७ ले भाषा आयोगको काम, कर्तव्य र अधिकार उल्लेख गरेको छ । यो आधारले पनि नेपालका भाषा, मौलिक लिपि संरक्षण र प्रयोगमा चासो देखाउनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्